आइसीसी वरियतामा पारस तल झरे, सोमपाल र वसन्त माथि उक्लिए


चैत ११, काठमाण्डौ । अन्तराष्ट्रिय क्रिकेट परिषदले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथास्थानमा रहेको छ ।

नेपाली बलरद्वय सोमपाल कामी र बसन्त रेग्मीले भने आइसीसी टी २० अन्तर्राष्ट्रिय वरीयतामा फड्को मारेका छन् । दक्षिण अफ्राका र श्रीलंका बीचको टी २० सिरिज समाप्तीपछि आइसीसीले सार्वजनिक गरेको वरीयता अनुसार बलरतर्फ सोमपालले ३ र बसन्तले २ स्थान सुधार गरेका हुन् ।

नयाँ वरीयताअनुसार सोमपाल ६८औँ र बसन्त ६९औँ स्थानमा उक्लेका छन् । यसअघि दुवै खेलाडी संयुक्त रुपमा ७१औँ स्थानमा थिए । सोमपाल र बसन्त अष्ट्रेलियाका प्याट कमिङ्स र मिचेल स्टार्क भन्दा पनि अगाडि छन् ।

यस्तै सोमपाल कामीले अलराउण्डरतर्फ पनि एक स्थान सुधार गरेका छन् । कप्तान पारस खड्का भने अलराउण्डरतर्फ ३८औँ स्थानमै यथावत छन् भने ब्याट्सम्यानतर्फ तीन स्थान तल झर्दै ९५औँ स्थानमा पुगेका छन् ।

टी २० को विश्व वरीयतामा ब्याटिङतर्फ पाकिस्तानका बाबर अजाम पहिलो, न्यूजिल्याण्डका कलिन मुनरो दोस्रो र अष्ट्रेलियाका ग्लेन म्याक्सवेल तेस्रो स्थानमा छन् । यस्तै बलिङतर्फ अफगानिस्तानका रसिद खान पहिलो, पाकिस्तानका सदाब खान दोस्रो र इंग्ल्याण्डका अदिल रसिद तेस्रो स्थानमा छन् ।

अलराउण्डरतर्फ भने अष्ट्रेलियाका ग्लेन म्याक्सेवल पहिलो, बंगलादेशका शकिब अल हशन दोस्रो र अफगानिस्तानका मोहम्मद नावी तेस्रो स्थानमा छन् ।