काठमाडौं, १४ जेठ । रेडियो अन्नपूर्णले ५ औं वार्षिकोत्सव मनाएको छ। मंगलबारदेखि रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज चार वर्ष पूरा गरेर पाँच वर्षमा प्रवेश गरेको हो।
वार्षिकोत्सवको अवसरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘रेडियो अन्नपूर्णा नेपाल दीर्घ साधना सम्मान–२०७६’ ले सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम गरेर रेडियो अन्नपूर्णले ५ औं वार्षिकोत्सव मनाएको हो। मन्त्री बाँस्कोटाले अन्नपूर्ण मिडिया नेटवर्क र अन्नपूर्ण रेडियोको यात्रा अन्नपूर्ण हिमाल जस्तै अटल रहोस् भन्ने शुभकामना दिए।

मन्त्री बाँस्कोटाले संसदमा पेश भएको मिडिया काउन्सिल विधेयकको विषयमा नपढिकन टिप्पणी नगर्न सबैलाई आग्रह गरे। ‘यो विधेयकले लोकतन्त्र नै खतरामा छ भनेको सुन्छु, कहाँ छ त्यस्तो ? त्यो त देखाउनु पर्यो नि !’, मन्त्री बाँस्कोटाले भने, ‘अलिअलि मिस गाइड भयो। पढेर मात्र टिप्पणी गरिदिनुहुन आग्रह गर्दछु।’

उनले विधेयकले मिडियालाई स्वनियमनको अधिकार दिएको दाबी गरे। ‘पत्रकारिता तथ्यकारिता हो। आशंकाकारिता होइन’, बाँस्कोटाले भने, ‘एउटा अध्यारो कोठामा बसेर लोकतन्त्र बचाउन नसक्नेहरुले विधेयकको विषयमा अफवाह फैलाए।’
त्यस्तै, अन्नपूर्ण मिडिया नेटवर्क अध्यक्ष रामेश्वर थापाले ५ औं वर्षमा प्रवेश गरेको अन्नपूर्ण रेडियो राष्ट्रिय प्रसारणमा जाने तयारीमा रहेको बताए। ‘हामी छिट्टै राष्ट्रिय प्रसारणमा जाँदैछौँ’, अध्यक्ष थापाले भने। तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम




प्रतिक्रिया