काठमाडौं, १९ असार । बोधि मार्ग दर्शन मैत्री धर्मका प्रतिपादक महासम्बोधि धर्म संघ गुरु रामबहादुर बम्जन तीन बर्षको लागि महा ध्यानमा बसेका छन । कमलामाई नगरपालीका वडा नम्बर–८ पैरे सिन्धुलीमा रहेको उनको आश्रम–काजोक्पामा यही असार १ गतेदेखि पुनः तीन वर्षका निम्ति ध्यानमा बसेको बोधि श्रवण धर्म संघले जनाएको छ ।
संघले बिहीवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । विश्व शान्तिको निम्ति बम्जन पुनः महाध्यानमा बसेको संघले जनाएको छ ।

उक्त महाध्यान समय अवधिभित्र अनेक विशिष्ट पूजाआजा र शिष्यहरुलाई धार्मिक प्रशिक्षण प्रदान गरिने पनि संघले स्पष्ट पारेको छ । कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङले सम्पुर्ण जगत, संघ, धर्म र आम शुभचिन्तकहरुलाई गुरुले चालेको मार्गको बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरिएको बताए ।

उनले भने,‘अहिले गुरु महाध्यानमा हुनुहुन्छ । उहाँको सुरक्षाको निम्ति सम्पुर्ण धर्म अनुयायी, भक्त तथा सरकारसंग सुरक्षाको माग गर्दछौ ।’
पहिलेपनि गूरुले ध्यान लगायतका बिभिन्न स्वबचन तथा आध्यात्मीक कार्य गर्दे आएको जनाउदै २०६२ देखि २०६८ सम्म तपस्या गरिसकेको बताउदै विश्व शान्तीको महामैत्रीका निमित्त अहिलेको महाध्यान केन्द्रित रहने पनि उनको भनाई छ ।

जारी महाध्यानबाट सम्पूर्ण प्राणी जगत, वनस्पती जगत र सम्पुर्ण अस्तित्वले ज्ञान, पुण्य तथा मुक्तिमोक्षको लाभ लिन सकिने संघले जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा अनुयायीहरु सुन्दर तामाङ, शुभलाल थिङ, कृष्णबहादुर ग्याबक, वृषध्वज वाईवा, पनित महर्जन, मंगल महर्जन र ढुण्डी बम्जन लगायतको उपस्थिति थियो ।
२०७६।०३।१९
मैत्रीय प्रेस वक्तव्य !
बोधि मार्ग दर्शन मैत्री धर्मका प्रतिपादक परंपुजनीय महा सम्बोधि धर्म संघ गुरुज्यू मिति २०७६ आषाढ ०१ गतेबाट पुनः तीन वर्षका निमित्त महाध्यानमा रहनु भएको र जस अन्तर्गत अनेक विशिष्ट पूजा आजा र प्रशिक्षणहरु समेत सम्पन्न गर्ने अति दुर्लभ सूचना बोधि श्रवण धर्म संघ तपाई सूचनाका बाहक पत्रकार मैत्रीय जनहरु मार्फत नेपाली जनता, सम्पूर्ण जगत र संघ, भक्त, अनुयायी, धर्म प्रेमीहरु तथा शुभचिन्तकहरुलाई सहर्ष जानकारी गराउन चाहन्छौं ।
यस महान अवसर नेपालको धर्म भूमिमा नै सुसम्पन्न हुने भन्ने गुरुज्यूको वचन प्राप्त भएकाले सो अवसरमा नेपाल सरकारबाट आवश्यक यथोचित शान्ति सुरक्षाको व्यवस्था मिलाइदिनु हुन समेत यसै पत्रकार सम्मेलन मार्फत् मैत्रीय अनुरोध गर्दछौं ।
अन्तमा बोधि श्रवण धर्म संघ गुरुज्यूको अति दुर्लभ महाध्यानको सुखद सम्पन्नताको प्रार्थना गर्दै सम्पूर्ण प्राणी जगत, वनस्पति जगत र सम्पूर्ण अस्तित्वले ज्ञान, पुण्य, मुक्तिमोक्षको अनन्त लाभ लिन सकौं, सबैमा मैत्रीय शुभकामना ।
सर्व मैत्री मंगलम् !!!
निलबहादुर थिङ्ग
अध्यक्ष




प्रतिक्रिया