राष्ट्रपतिद्वारा नेपाल राष्ट्र बैंकको भवन शिलान्यास (फोटोफिचर)


काठमाडौं, २३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल राष्ट्र बैंकको भवन शिलान्यास गरेकी छिन् । भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा अघि बढ्नुपर्ने बताएकी छन्।

राष्ट्रपति भण्डारीले बैंक तथा वित्तीय संस्था आत्मनिर्भर अर्थतन्त्रमा अघि बढ्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकले त्यसतर्फ भूमिका खेल्नुपर्ने बताइन्। कृषि, उद्योग, पर्यटन, जलविद्युत क्षेत्रमा प्रयाप्त लगानी बढाएमा मात्र संमृद्वि हाँसिल हुने उनको भनाइ छ।

President Bhandari at nepal rastra bank

बैंक तथा वित्तीय संस्थाको बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गरी व्यापारघाटा कम गर्नुपर्नेमा जोड दिँदै उनले भनिन्,‘उत्पादन र व्यवसायिक क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्न आवश्यक छ ।’ वित्तीय प्रणाली चुस्तदुरुस्त बनाउन राष्ट्र बैंकले भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

   

उनले आर्थिक संमृद्विको यात्रा सार्थक बनाउने गरी मौद्रिक नीति जारी हुनुपर्ने बताइन्। आधारभूत बैंकिङ सेवा पाउने सुनिश्चिता गर्न केन्द्रीय बैंकले थप भूमिका खेल्नुपर्ने उनको भनाइ छ। आधुनिक बैंकिङ प्रणालीबाट सबै जनतालाई आधारभूत बैंकिङ सेवा पाउने सुनिश्चितता गरिनुपर्नेमा उनले जोड दिइन्।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ प्रणाली सही नभए बिमा, धितो र सहकारी क्षेत्रसमेत सफल हुन नसक्ने बताए। मुलुक वित्तीय स्थायित्व युगमा प्रवेश गरेको भन्दै अर्थमन्त्री खतिवडाले उच्च आर्थिक वृद्धि हाँसिल गर्न, आर्थिक स्थायित्व कायम गर्न र आर्थिक सम्बन्ध बलियो बनाउन राष्ट्र बैंकले भूमिका खेल्नुपर्ने बताए।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम