मृतकका परिवारलाई रु दुई लाख सहयोग


काठमाडौं २३ भदौ ।वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका मृतकको परिवारलाई बेल्जियम स्याङ्जा सम्पर्क समितिले आर्थिक सहयोग गरेको छ ।

स्पेनमा रोजगारीको सिलसिलामा गत जेठ १९ गते कार दुर्घटनामा परी ज्यान गुमाएका स्याङ्जाको चिन्नेवासका पुजन कोइरालाकी माता देवी कोइरालालाई समाजसेवी नेत्रप्रसाद पाण्डेले रु दुई लाख २५ हजार ७५२ हस्तान्तरण गर्नुभएको हो ।

बेल्जियममा रहेका स्याङ्जालीहरुको संस्था ‘बेल्जियम स्याङ्जा सम्पर्क समिति’ र बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा सङ्कलित रकम समितिका महासचिव होमनाथ पाण्डेले नेपाल पठाउनुभएको हो ।
एउटा नेपालीको दुःखमा अर्को नेपालीले पनि सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाका साथ मृतकको परिवारलाई आर्थिक सहयोग गरेको समाजसेवी पाण्डेले बताउनुभयो । श्रीमान् र छोरा गुमाएकी पुजनकी आमा एक छोरीका साथ काठमाडौँमा बस्दै आउनुभएको छ । मृतक छोराको स्मृतिमा आर्थिक सङ्कलन कार्यमा खटिनुहुने समितिप्रति मृतककी आमा देवी कोइरालाले आभार प्रकट गर्नुभएको थियो । (रासस)

Skip This

Omoda E5 Pro