‘धर्म संस्कृति विश्वमा नेपालको पहिचान प्रदर्शन’


काठमाडौँ, ९ कात्तिक : नेपालको दोस्रो मुख्य चाड दीपावली, नेपाल संवत् ११४० तथा छठपर्वको शुभअवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमका वक्ताले नेपालका सबै धर्म, संस्कृति तथा संस्कार नेपालको गौरव मात्र नभई विश्वमा नेपालको पहिचान प्रदर्शित गरिरहेको बताएका छन् ।

काठमाडौँको गोँगबुस्थित नेपाल गृहष्ठ धर्म सेवा सदनले आयोजना गरेको सो कार्यक्रममा त्यस क्षेत्रका विभिन्न जातजातिको उपस्थिति थियो । सो अवसरमा पूर्वमेयर एवं राप्रपाका नेता राजाराम श्रेष्ठले प्राचीनकालदेखि नै सबै धर्मावलम्बी मिलीजुली बसेको नेपालमा हाल केही समययता हिन्दू धर्ममाथि प्रहार हुन थालेकोमा चिन्ता व्यक्त गरे ।

उनले दीपावली, नेपाल संवत् तथा छठपर्वजस्ता नेपालको मौलिक पर्व तथा चाडले नेपालको गौरव बढाइरहेको उल्लेख गरे । नेपाल गृहष्ठ धर्म सेवा सदनका अध्यक्ष एवं आचार्य गुरु तुलसीराम पोखरेलले सबै मानवजातिलाई सुख, शान्ति तथा सद्भावका साथ जिउन सिकाउने बताउँदै मानिस–मानिसबीच सदभावपूर्वक बाँच्न जाने मात्र समाजमा शान्ति कायम हुने बताए ।

उहाँले शुभ दीपावली, नेपाल संवत् ११४० न्हुदँ तथा छठपर्वका अवसरमा सबैमा शुभकामना पनि व्यक्त गर्नुभयो । गोँगबु आवास सुधार समितिका अध्यक्ष महेश्वरकुमार श्रेष्ठ, गोँगबु दिदीबहिनी समूहकी अध्यक्ष विन्दु सेढाईँ, मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले पनि समाजमा सद्भावको आवश्यकतामाथि प्रकाश पारे ।

Skip This

Omoda E5 Pro