ऐतिहासिक रानीपोखरी पुनःनिर्माणमा फेरि डोजर


काठमाडौं, मंसिर १४ । विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको चार वर्षपछि ऐतिहासिक सम्पदा रानीपोखरीको पुनःनिर्माणमा दुईवटा जोडार प्रयोग गरेर काम अघि बढाइएको छ। गत फागुनबाट उपभोक्त समितिले भक्तपुर नगरपालिकाका ५० जना महिला ल्याएर रानीपोखरी निर्माण कार्य गर्दै आएको थियो।

उनीहरूले हात र खुट्टाले माटो मुछ्ने, पानी अड्याउन कालो माटो बिछ्याउने काम गर्दै आएका थिए। तर राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले काम छिटै सक्न र पुनःनिर्माण लागत थोरै हुने भन्दै रानीपोखरीमा डोजर चलाएको छ। यसअघि प्राधिकरणले रानीपोखरीमा डोजर चलाउँदा विरोध भएको थियो।

तोकिएको समयावधिमा काम नसकिने भएपछि डोजर चलाएको प्राधिरकणका इन्जिनियर राजु मान्धरले बताए। उनले भने, ‘डोजर लगाएसँगै मानिसले २६ दिनमा गर्ने काम डोजरले एक दिनमै गरिरहेको छ। तर पोखरीको माटो उठाउन मात्र डोजर प्रयोग गरिएको हो, मन्दिर तथा पोखरीको पर्खाल भत्काउन भने मान्छे नै प्रयोग गरिएको छ।’

भूकम्प गएको चार वर्षपछि बनाउँदै गरेको रानीपोखरीभित्र डोजर चलाएपछि ऐतिहासिक महत्वको सम्पदामा प्रविधिको प्रयोग भइरहेको भन्दै सम्पदा अभियन्ताहरूले असन्तुष्टि व्यक्त गरेका छन्। अहिले रानीपोखरीभित्र दुईवटा एस्काभेटरको प्रयोग भइरहेको छ।

पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम सिएमसी कम्पनीले गरिरहेको छ। अहिले बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम २० प्रतिशत सकिएको छ भने पोखरीको काम ४० प्रतिशत सकिएको छ। त्यस्तै पर्खालको काम भने ८५ प्रतिशत सकिएको इन्जिनियर मान्धरले बताए।

गत माघमा भएको विज्ञ सम्मिलित बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रानीपोखरीमा डोजर प्रयोग नगर्ने र पोखरी जस्ताको त्यस्तै बनाउने सहमति भएको थियो।नागरिक दैनिकबाट