काठमाडौं, मंसिर २२ । काठमाडौं उपत्यकामा घर भएका तथा उपत्यकाभित्र र बाहिर स्थानीय तहका केही प्रमुख प्रशासकीय अधिकृतले घरबाटै कार्यालय आउजाउ गरेको देखाएर नगएको दिनको पनि हाजिर गर्दै आएको पाइएको छ। विद्युतीय हाजिरी मेसिन बिगारेर उनीहरूले रजिस्टरमा हाजिर गर्ने गरेका छन्।
ललितपुरको महाँकाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे काठमाडौंको थानकोटबाट दैनिक ५५ किलोमिटर दूरी पार गरेर कार्यालय ओहोरदोहोर गर्छन्। २६ कात्तिक २०७६ मा गोटीखेलस्थित गाउँपालिकाको कार्यालय पुग्दा उनी भेटिएनन्। तर त्यस दिन उनले रजिस्टरमा हाजिर गरिसकेको भेटियो। उनले अघिल्लो दिन नै भोलिपल्टको पनि हाजिर गरेका थिए।
ललितपुरको बाग्मती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य भक्तपुरको बालकोटमा बस्छन्। त्यहाँबाट भट्टेडाँडास्थित गाउँपालिका कार्यालयको दूरी झन्डै ५० किलोमिटर छ। बालकोटबाट गाडीमा कार्यालय पुग्न उनलाई कम्तीमा तीन घन्टा लाग्छ। त्यसैले उनी नियमित कार्यालय जाँदैनन्। निर्णय गर्नुपर्ने काम र हस्ताक्षर गर्नुपर्ने कागजात तयार पारेर अरू कर्मचारीले उनको टेबुलमा राखिदिन्छन्। उनी आफ्नो अनुकूलतामा त्यहाँ पुगेर कागजातमा सही गरेर घर फर्किन्छन्।
ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमबहादुर महत सुनाकोठीमा बस्छन्। घरदेखि ३५ किलोमिटर कच्ची बाटो पार गरेर कार्यालय पुग्न उनलाई साढे दुई घन्टा लाग्छ। कात्तिक १४ गते दिउँसो ३ बजे गाउँपालिका कार्यालय पुग्दा उनी भेटिएनन्। गाउँपालिकाका इन्जिनियर दिनेश सञ्जेलले प्रशासकीय अधिकृत नियमित कार्यालय नआएको सुनाए।
काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारी भक्तपुरको लोकन्थलीका बासिन्दा हुन्। उनको घरदेखि कार्यालयको दूरी करिब ४५ किलोमिटर टाढा पर्छ। भण्डारी हप्तामा चार दिनभन्दा बढी कार्यालयमा भेटिँदैनन्।
उनी मात्र होइन, नगरपालिकाका शिक्षा शाखा प्रमुख दीनानाथ पन्थी, लेखा सहायक सुशीला पाठक, सीतामाया तामाङ पनि भक्तपुरबाट भण्डारीसँगै ओहोरदोहोर गर्छन्। कार्यकारी कार्यालय नगएको दिन उनीहरू पनि जाँदैनन्। २७ कात्तिक दिउँसो पाँचखाल नगरपालिका पुग्दा उनीहरूमध्ये कोही पनि कार्यालयमा थिएनन्। भण्डारी कात्तिकमा ११ दिन मात्रै कार्यालयमा उपस्थित भएका छन्।
पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईं भक्तपुरको गट्ठाघरवासी हुन्। उनको कार्यालय घरदेखि करिब ३२ किलोमिटरको दूरीमा पर्छ। त्यहाँ पुग्न चापागाईंलाई कम्तीमा डेढ घन्टा लाग्छ। मंसिर १ गते आइतबार दिउँसो पनौती नगरपालिका पुग्दा चापागाईं कार्यालयमा भेटिएनन्। उनको हाजिरी विवरण अरू कर्मचारीले देखाउन मानेनन्।
स्थानीय तहका कर्मचारी कार्यालयबाट टाढा बस्दा त्यसको सीधा असर सेवाग्राहीलाई परेको छ। टाढा बस्दा इन्धन र समयको खर्च त भएको छ नै, कार्यालयको काममा बाधा पुगेको छ। नागरिक दैनिकबाट




प्रतिक्रिया