मि टुु मुद्धा, ३४ लाख क्षतिपूर्ति पाउने


काठमाडौं, ३ पुस । जापानमा ‘मीटू’ अभियानको चर्चित अनुहार बनेकी ३० वर्षीया पत्रकार शिओरी इटोले आफूमाथि भएको बलात्कार मुद्दा जितेकी छन् । जापानमा यौन उत्पीडनजस्तो विषयमा कसैले पनि सार्वजनिक रूपमा कुरा नगर्ने भएकाले उनको यो जितलाई महत्त्वपूर्ण ठानिएको छ । टोकियोस्थित ‘सिभिल कोर्ट’ ले इटोको पक्षमा फैसला सुनाउँदै पीडतलाई ३० हजार अमेरिकी डलर ९३४ लाखभन्दा बढी रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ । अदालतले ‘ब्रोडकास्टर टीबीएस’ का वासिङ्टन ब्युरो प्रमुख नोरियुची यामागुचीविरुद्ध इटोद्वारा दायर मुद्दाको सुनुवाइपछि उक्त ‘ऐतिहासिक’ फैसला सुनाएको हो । वरिष्ठ पत्रकार यामागुची जापानी प्रधानमन्त्री सिन्जो अबेका अत्यन्तै नजिकका मानिन्छन् ।

अदालतमा मुद्दा दायरपछि आयोजित पत्रकार सम्मेलनमा शिओरी इटोले जापानी मिडियासँग भनेकी थिइन्, ‘सन् २०१५ मा यामागुचीले म बेहोस रहेको अवस्थामा टोकियोस्थित एउटा होटलमा मलाई बलात्कार गरेका थिए ।’ उनले आरोपित यामागुचीले आफूलाई करिअरबारे छलफल गर्न होटलमा बोलाएको तर त्यहाँ बलात्कार गरेको बताएकी थिइन् । आफूमाथि भएको बलात्कारलाई लिएर उनी अदालत पुगेकी थिइन् । अदालतको फैसलापछि इटो असाध्यै खुसी छिन् । ‘तर, यहाँसम्म आइपुग्नका लागि मैले धेरै कठिनाइको सामना गरेकी छु,’ उनी भन्छिन्, ‘प्रहरीले अनुसन्धानका क्रममा मसँग सोधिएका प्रश्नहरूले अझै पनि मेरो जीउ सिरिङ हुन्छ । प्रहरीले यस्ता प्रश्नहरू सोधे जसको जवाफ सबै महिलाले दिने सहासै गर्न सक्तैनन् ।’ आफू संलग्न रहेकै पेसाका वरिष्ठ पत्रकारबाट भएको असह्य बलात्कारको घटनाले आफूलाई ठूला मानसिक आघात पुगेको प्रतिक्रियासमेत दिएकी थिइन् । सन् २०१७ मा इटोले पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो पीडादायक अनुभव पहिलो पटक सार्वजनिक गरेकी थिइन् । यसले पनि नपुगेपछि उनले ‘ब्ल्याक बक्स’ पुस्तकमा समेत आफ्ना आपत्ति र पीडाहरू पोखेकी छन् । त्यही वर्ष उनले यामागुजीविरुद्ध एक लाख अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

इटोले अदालतमा मुद्दा दायर गरेको केही घन्टापछि यामागुचीले पनि उनीविरुद्ध ‘काउन्टर केस’ दायर गरेका थिए । तर, पर्याप्त प्रमाण अभावमा अदालतले पीडितकै पक्षमा फैसला सुनाएको छ । आफ्नो स्पष्टीकरणमा यामागुचीले सन २०१७ मा अमेरिकी अखबार ‘न्युयोर्क टाइम्स’ संग भनेका थिए, ‘इटोले धेरै रक्सी सेवन गरेकी थिइन र उनको सुरक्षालाई ध्यानमा राख्दै आफ्नो कोठामा लगेको थिएँ ।’ यामागुचीले अदालतमा हालेको उजुरीमा भनेका थिए, ‘इटोको कपडामा रक्सीसहितको फोहोरले लागेको थियो, त्यही कारणले उनको कपडा हटाइदिएको थिएँ, कपडा हटाउने क्रममा इटोले त्यसको प्रतिवाद गरिनन् । जब कि त्यस बेलासम्म उनी होसमा आइसकेकी थिइन्। ’ तर, अदालतले उनको यो दलिललाई ठाडै अस्वीकार गरिदियो ।

इटोको यो मुद्दाले जापानमा विद्यमान पुरानो बलात्कार कानुनहरू र रुढिवादी राष्ट्रमा यौनदुराचारमा महिलाहरूले सामना गर्नुपर्ने अवरोधरबाधाहरूलाई उजागर गरिदिएको छ । अदालतको फैसलाले जापानमा महिला अधिकार र देशमा जारी ‘मीटू’ आन्दोलनका लागि जितका रूपमा हेरिएको छ । अदालत बाहिर इटोले आफ्ना समर्थनलाई धन्यवाद दिइन् । ‘समर्थकहरूकै सहयोगमा यो जित हासिल भएको हो । सत्तारुढ दलहरूलाई यस्तै अन्य मुद्दामा ध्यान केन्द्रित गराउन अदालतको यो फैसलाले सहयोग पुग्ने विश्वास मेरो छ,’ उनले भनिन्, ‘म वास्तवमै खुसी छु किनभने मैले सबैसमक्ष एउटा राम्रो परिणाम दिन सक्षम भएकी छु । सुरुमा एक्लो थिएँ, डर र चिन्ता पनि थियो । तर सबैको सहयोग प्राप्त भयो र मुद्दा जितेँ ।’ इटो जापानमा ‘मीटू’ आन्दोलनको प्रतीक बनेकी छन् । जापानमा यौनदुराचारबारे महिलाले विरलै रिपोर्ट गर्छन् । इटोको सहास जापानमा एउटा दुर्लभको घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इटोको पक्षमा सिभिल कोर्टको फैसलापछि यामागुचीले अर्को अदालतमा अपिल गर्ने प्रतिक्रिया दिँदै आफूमाथि लागेको आरोप निराधार भएको जनाए ।

कान्तिपुर दैनिकबाट