अमेरिकी सञ्चारगृहका पत्रकारलाई चीनमा काम गर्न प्रतिबन्ध


एजेन्सी, चैत ७ । अमेरिकामा केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाइएपछि प्रत्युत्तरमा चीनले तीन वटा अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारहरूलाई आफ्नो मुलुकबाट निष्कासन गरेको छ।

चिनियाँ विदेश मन्त्रालयले द न्यूयोर्क टाइम्स, द वाशिङ्टन पोस्ट र द वाल स्ट्रीट जर्नलका पत्रकारहरूलाई उनीहरूसँग रहेको सञ्चारकर्मीको अनुमतिपत्र १० दिन भित्र फिर्ता गर्न निर्देशन दिएको छ।मन्त्रालयले चीनमा उनीहरूको गतिविधिबारे पनि सूचना माग गरेको छ।

उक्त कदम अमेरिकामा चिनियाँ सञ्चारमाध्यममाथि लगाइएको अनावश्यक प्रतिबन्धहरूकोू प्रतिक्रिया भएको चिनियाँ विदेश मन्त्रालयले बताएको छ।

यसै महिनाको आरम्भमा ट्रम्प प्रशासनले अमेरिकामा काम गर्ने चिनियाँ पत्रकारको सङ्ख्यामा सीमा तोकिदिएको थियो।अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनको निर्णयलाई ूदुर्भाग्यपूर्णू भन्दै बेइजिङलाई त्यसबारे पुनस् विचार गर्न आग्रह गरेका छन्।

बीबीसीका अनुसार मार्च महिनाको आरम्भमा अमेरिकाको विदेश मन्त्रालयले चिनियाँ समाचारसंस्था सिन्ह्वासहित पाँचवटा सञ्चारगृहलाई कर्मचारीको कुल सङ्ख्या १६० बाट घटाएर १०० मा पुर्‍याउन भनेको थियो।

गत महिना कोरोनाभाइरस सङ्क्रमणको प्रकोपबारे लेखिएको सम्पादकीयका कारण चीनले द वाल स्ट्रिट जर्नलका दुई पत्रकारलाई निष्कासन गरेको थियो। त्यसको प्रतिक्रियास्वरूप अमेरिकाले चिनियाँ पत्रकारको सङ्ख्या तोकिदिएको ठानिएको थियो।