धादिङ, – चैत ७ । धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दाको आरोपमा फरार भएका एक व्यक्तिलाई १८ वर्षपछि पक्राउ गरेको छ। जिल्लाको थाक्रे गाउँपालिका–६ रानीबारीका कान्छा थापा भनिने रणबहादुर थापालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। २०५८ माघ १४ गते साविक थाक्रे गाविस वडा नं। ६ रानीबारीका साइली भन्ने माइली थापाको हत्या गरेर फरार भएको प्रहरीको दाबी छ। फरार अभियुक्त गाउँमै लुकिछिपी बसेको विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए।
व्यक्ति हत्याको आरोपमा थापाविरुद्ध प्रहरीमा उजुरी दर्ता भएलगत्तै फरार भएको उनले बताए। ‘फरार अभियुक्त पक्राउ विशेष अभियान’अन्तर्गत थापालाई पक्राउ गर्न सफल भएको सूचना अधिकारी खड्काको भनाइ छ। केन्द्रीय अनुसन्धान ब्युरो तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले थापालाई पक्राउ गरेको उनले बताए। पक्राउ परेका थापालाई जिल्ला अदालतमा उपस्थित गराएर थप अनुसन्धान प्रकिृया सुरु गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए।




प्रतिक्रिया