कमल थापाको प्रश्न : कोरोनाबारे जानकारी दिने सरकारको आधिकारिक व्यक्ति को हो ?

भारतबाट नेपाल आउन चाहने नेपालीहरुलाई ल्याउन सरकारले उपयुक्त कदम चालोस


सरकारको चेन अफ कमाण्ड कमजोर

काठमाडौं, १७ चैत्र । राप्रपाका अध्यक्ष कमल थापाले कोरोना भाइरसको महामारीले विश्व नै प्रभावित रहेको बताउँदै नेपालले आवश्यक सावधानी र सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । उनले कोरोनाको जोखिमबाट बच्नको लागि सरकारले चालेको कदम सही रहेको बताउँदै नेपाली जनताले यो कदमलाई साथ दिनुपर्ने बताए ।

सोमबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कोरोनाको महामारी प्राइमको खबरदारी कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले भने,”सरकारले लागु गरेको लकडाउनको हामी सबैले पूर्ण पालना गर्नुपर्छ । सरकारले पनि आम नागरिकले यो अवधिमा भोग्नुपरेका समस्याहरुको समाधान गर्नतर्फ उपयुक्त कदम चाल्नुपर्छ । दैनिक उपभोग्य वस्तुको समस्या समाधान गर्नुपर्छ । अहिले ठिक ढंगबाट आपूर्ति भैरहेको छैन् । दैनिक ज्यालादारीमा रहेका परिवारले धेरै ठूलो कठिनाई भोगिरहनुभएको छ । यसतर्फ पनि सरकारले सोचोस् ।”

त्यस्तै, अध्यक्ष थापाले भारतबाट नेपाल घर फर्कन चाहने नेपालीहरुको ठूलो संख्या रहेको बताउँदै उनीहरुलाई नेपाल फर्काउने मामिलामा समेत सरकारले सहजीकरण गर्नुपर्ने सुझाव दिए । यद्धपी उनले अहिलेको अवस्थामा जो जहाँ छन्, सबै त्यहीँ बस्नु नै उत्तम भएको पनि स्पष्ट पारे । उनले भने,”तर, कोही नागरिक नेपाल आफ्नो घर फर्कन चाहन्छन् भने उचित निगरानी र स्वास्थ्य परीक्षण गरेर नेपाल आउन दिनुपर्छ । उनीहरुलाई घर फर्कने व्यवस्था गर्नुपर्छ । कोरोना भाइरसको समस्या तत्काल समाधान हुँदैन् । हामीले अझै केही हप्ता कठिनाई भोग्नुपर्ने हुनसक्छ । नेपालको सामाजिक तथा आर्थिक क्षेत्रमा यसले दुरगामी प्रभाव पर्न सक्छ । यसबारेमा सरकारले अहिलेदेखिनै ध्यान दिनु उपयुक्त हुन्छ ।”

विदेशमा रहेका नेपालीहरुलाई यो अवस्थामा आफू पनि सुरक्षित रहन र आफ्नो परिवारलाई सुरक्षित राख्न हरसम्भव प्रयास गर्नको लागि थापाको सुझाव छ । उनले भने,”अहिलेको अवस्थामा जो जहाँ छौं, त्यो त्यहीँ बसेर आफ्नो सुरक्षा गर्नुपर्छ । तर, कोही घर फर्कन चाहनेहरुलाई नेपाल ल्याउनको लागि सरकारले पहल गर्नुपर्छ । भारतबाट नेपाल आउने नेपालीहरुको ठूलो संख्या छ । उनीहरुलाई फिर्ता ल्याउनुपर्छ । तर, उनीहरुलाई नेपाल ल्याउँदा उनीहरुको राम्रोसँग स्वास्थ्यजाँच गर्नुपर्छ ।”

त्यस्तै थापाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि सरकारको चेन अफ कमाण्ड अत्यन्तै कमजोर भएको आफूले पाएको बताए । उनले भने,”यो विषयमा सरकारले ध्यान दिनुपर्छ । उच्चस्तरीय समन्वय समितिका निर्णयबारे जनताले स्पष्ट रुपमा बुझ्न पाएका छैनन् । म तपाईको लोकप्रिय कार्यक्रमार्फत प्रधानमन्त्रीको ध्यानाकार्षण गराउन चाहन्छु । कोरोनाबारे रेगुलर जानकारी दिने आधिकारिक व्यक्ति को हो ? हरेक दिन सञ्चारमाध्यमबाट यसबारेमा जानकारी र जवाफ दिने व्यक्ति को हो ? अमेरिकामा हरेक दिन राष्ट्रपति आफैं उपस्थित् हुन्छन् । बेलायतमा पनि त्यहाँको सरकारका प्रमुख व्यक्तित्व उपस्थित् हुनुुहुन्छ । सिनियर मन्त्रीले उठेको प्रश्नको जवाफ दिईरहेको छ । नेपालमा को हो ? आधिकारिक व्यक्ति ?”