काठमाडौं, २९ चैत्र । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाविरुद्ध लड्न सरकारी संयन्त्रले नै काम गरिरहेकोले अहिले अर्को कुनै संयन्त्र आवश्यक नरहेको टिप्पणी गरेका छन् । केही दिन अघि ईमेज टेलिभिजनबाट प्रशारित एक कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले सरकारीभन्दा बाहिरको छुट्टै उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले दाहाललाई जवाफ फर्काउँदै अर्को संयन्त्र आवश्यक नरहेको स्पष्ट पारेका हुन् ।
आज (शनिबार) ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि सरकारले चालेको कदम र कार्यक्रम प्रभावकारिताबारे बुझ्न आयोजित भिडियो कन्फरेन्समा कुरा गर्दै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध लड्न सरकारीभन्दा अर्को कुनै संयन्त्र आवश्यक नरहेको बताएका थिए ।
प्रधानमन्त्री ओलीको सचिवालयले जनाएअनुसार उक्त भिडियो कन्फरेन्स ४ घण्टा लामो समयसम्म चलेको थियो । विहान साँढे ११ बजेदेखि अपरान्ह ३ः ४० बजेसम्म सिहदरबारस्थित एक्सन रूमबाट ४ घण्टाभन्दा बढी अवधिसम्म संचालन भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । उक्त अवसरमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका तमाम प्रयाशहरूको स्थिति जानकारी गराएको पनि उनले स्पष्ट पारेका छन् ।

उनले भनेका छन्,”प्रधानमन्त्रीज्यूले यसबीचका प्रयाशहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताउनु भयो । उहाँले सामाजिक दूरी कायम गर्नुको अर्काे विकल्प नै नरहेको स्पष्ट गर्नुभयो । सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई अनुरोध गर्नुभयो । उहाँले कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्यउपचारको क्षेत्रले गुणात्मक फ्ड्को मार्ने, प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि बताउनु भयो ।”
त्यस्तै, लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको पनि भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलील्े बताएको उनले जनाएका छन् । जारी प्रेस नोटमा भनिएको छ,”भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न पनि सबैलाई सचेत गराउनुभयो ।”
थापाका अनुसार प्रधानमन्त्री ओलीले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट समेत पारेका थिए । प्रेस नोटमा थप जनाईएको छ,”सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न सबैलाई स्पष्ट पार्नुभयो । साथै, स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारिरीक रूपमा तन्दुरूस्त र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताउनुभयो । लकडाउनमा प्रशासनिक लापरबाही हुनैभएन, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने, त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिने समेत उहाँले उल्लेख गर्नुभयो । उहाँले जनतालाई दुस्ख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गर्नुभयो । साथसाथै, सरसफाईमा ध्यान दिन, माक्स र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि आग्रह गर्नुभयो ।”




प्रतिक्रिया