काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक बन्नेमा ढुक्क हुन भन्दै अहिलेको पुस्ताले जति लड्नुपर्ने हो लड्ने बताएका छन् । उनले मुलुकमा अर्को आन्दोलनको आवश्यकता नभएको समेत बताए ।
आज वैकल्पिक शिक्षाको सिकाई प्रणालीको आरम्भ भएपछि विद्यार्थीहरुलाई टेलिभिजन सम्बोधन गर्दै भने, ‘देशमा अर्को आन्दोलन आवश्यक छैन, जति लड्नुपर्ने हो यो पुस्ताले लड्छ मुलुक बन्छ ।’ उनले भावी पुस्ता देशभक्त बन्नुपर्ने समेत बताए । बाँकी दुनियाँ अन्धकारमा हुँदा पूर्खाले ज्ञानको ज्योति फैलाएको उल्लेख गरे । पूर्खाप्रति गर्व गर्न भन्दै ओलीले भने, ‘पूर्खालाई सम्झनुपर्छ, संस्कृतिक र सभ्यतालाई सम्झनुपर्छ ।’
शिक्षा समाज र देशको आवश्यकताका लागि हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । उनले भने, ‘भावी पुस्ता आम विषयमा जानकार, आफ्नो विषयमा विशेषज्ञ र आफ्नो समाजबारे जानकार हुनुपर्छ ।’
देशले भावी पुस्ता र भविष्यका लागि लगानी गरेको भने । असल र इमान्दार भावी पुस्ताको उत्पादनमा सरकार लागेको बताए ।
ओलील्े लकडाउनको पूर्ण पालना गर्न समेत भने । ‘लकडाउन खुकुलो पारिएको हो, खुलेको होइन,’ ओलीले भने ।

सिकाई प्रणाली विद्यार्थीको पहुँचका आधारमा छुट्याएर तयार गरिएको बताए । रेडियो, टेलिभिजन र कम्प्युटर भएकाको अवस्था हेरेर श्रेणी छुट्याएको र कुनै पहुँच नभएकालाई पाठ्यक्रम उपलब्ध गराउने बताए । अभिभावक, शिक्षक र स्वयंसेवकलाई यसमा सहयोग पुर्याउन आग्रह गरे ।




प्रतिक्रिया