आजको बैठकमा प्रधानमन्त्रीको राजीनामाको विषय औपचारिक प्रस्ताव बनेको थिएन : श्रेष्ठ


काठमाडौं, ३ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानतर्फ उन्मुख छ । आज बसेको सचिवालय बैठकले पार्टी विवादलाई थप छलफल गरेर टुंग्याउने निर्णय गरेको र बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय औपचारिक प्रस्ताव नबनेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकाहरुलाई जानकारी दिए ।

उनले पार्टी विवादबारे अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले सहमतिमा टुंग्याउने निर्णय भएको स्पष्ट पारे । श्रेष्ठले भने,’पार्टीको समग्र समस्याको बारेमा छलफल भएको हो । आजको छलफल राम्रोसँग भएको छ । तर विवाद समाधान भएको छैन । दुई अध्यक्षले सहमतिमा विवाद टुंग्याउने सहमति भएको छ ।’

पार्टी एकताको रक्षा गर्ने र जनादेशको सम्मान गर्ने गरी सहमति जोखिने उनले बताए । आन्तरिक संकटलाई सहमतिको आधारमा कसरी सम्बोधन र समाधान गर्ने भन्ने बारेमा अध्यक्षद्वयबीच गृहकार्य भइरहेको उल्लेख गर्दै उनले विवाद समाधानका गरी पार्टी एकता सुदृढ बनाउँदै कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा सचिवालयमा छलफल भएको बताए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम