स्टिङ अपरेसनमा नयाँ रेकर्ड तर घटेन भ्रष्टाचार


काठमाडौं, साउन ८ ।भ्रष्टाचारीलाई ठाउँका ठाउँ पक्राउ गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चालन गर्दै आइरहेको स्टिङ अपरेसन प्रभावकारी देखिए पनि भ्रष्टाचार भने घटेको छैन । अख्तियारले स्टिङ अपरेसनलाई सशक्त बनाएको दाबी गरे पनि भ्रष्टाचार नियन्त्रण भने निकै चुनौतीपूर्ण देखिएको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा अख्तियारले घुस रिसवतसम्बन्धी २ सय ५ वटा मुद्दा दायर गरेकामा ती मुद्दामा ६ करोड ९१ लाख ४९ हजार ७० रुपैयाँ बिगो माग दाबी गरिएको छ । रंगेहात पक्राउ गरिएका व्यक्तिको मुद्दामा अख्तियारले प्रायः जित्दै आएको छ । रंगेहात पक्राउ परेका भ्रष्टाचारीबाट बिगो असुल भएमा राज्यकोषमा एक वर्षमा झन्डै ७ करोड जम्मा हुने देखिएको आजको राजधानी दैनिकमा खवर छ ।