काठमाडौं, १९ भदौ । साझा पार्टीले कोभिड-१९ को बहुआयामिक संकटमाझ देशभरका विपन्न तथा न्यून आयका नागरिकहरूको जीवनयापन अत्यन्त कष्टकर बनेको बताएको छ । आज (शुक्रबार) उक्त पार्टीको सञ्चार विभागले एक विज्ञप्ती निकालेर खान नपाएर नागरिकको बिचल्ली भएको बताएको छ । उसले सरकार कहाँ छ ? भनि प्रश्नसमेत सोधेको छ ।
विज्ञप्तीमा भनिएको छ,‘साँझ(विहान खान पनि नपाउने गरेर चरम कठिनाईमा परेका हजारौँलाई राजधानीसहित देशका विभिन्न भागमा मनकारी व्यक्ति तथा संस्थाहरूले खाना खुवाईरहेका दारूणिक दृश्य सार्वजनिक भईरहेका छन्। दैनिक ज्यालादारी गरेर साँझ विहान छाक टार्नेहरूदेखि नियमित आयको स्रोत बन्द भएका निम्नमध्यम वर्गीय नागरिकहरूसम्म चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्थाबाट गुज्रिएको लामो समय भइसक्यो। परिणामास्वरूप, कयौँ नागरिक खान नपाएर मर्दैछन्, विरामीहरू अस्पताल नपाएर मर्दैछन्। कोरोना संक्रमणले दिनप्रतिदिन भयावह रूप लिँदैछ। यस्तो अवस्थामा पनि सरकार कमिसन, ठेक्कापट्टा, शक्ति संघर्ष, राजनीतिक षडयन्त्र र चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजाने प्रपञ्चमा व्यस्त छ।’
विपद्को घडीमा समेत जनतालाई राहत प्रदान गर्न मूलतः व्यक्ति र संस्थाहरू नै चाहिने हो भने स्थानीय सरकार केका लागि हो? भन्दै उसले प्रश्न गरेको छ । विज्ञप्तीमा थप भनिएको छ,“अब कोही भोकै बस्नु पर्दैन, गरिबीका कारण कोही भोकै मर्दैन” भन्ने प्रधानमन्त्री कसका लागि हुन्? स्थानीय सरकार र अन्य सरकारी संयन्त्रलाई राहतका लागि निर्देशनमात्र दिएर पुग्दैन। खै उनीहरूले राहत पाएका? पाएका भए देशभरी कारूणीक दृष्यहरू किन देखिइरहेका छन्?’




प्रतिक्रिया