दुई विश्वविद्यालयमा बल्ल उपकुलपति


काठमाडौं, असोज १० । सरकारले दुई विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार कृषि तथा वन विश्वविद्यालयमा प्रा डा पुण्य रेग्मी र नेपाल संस्कृत विश्वविद्यालयमा प्राडा यादवप्रकाश लामिछानेलाई नियुक्त गरेका हुन्।

उपकुलपति नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिको प्रस्तावमा तोक लागे पनि उनीहरूलाई नियुक्तिपत्र भने दिइएको छैन। ‘आज तोक मात्र लागेको छ। नियुक्तिपत्र आइतबार वा सोमबार पाइन्छ होला’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो।

नियुक्तिका लागि छनोट भएका रेग्मी कर्णाली प्रदेशको योजना आयोगका उपाध्यक्ष पदमा कार्यरत थिए। उनी नेकपामा अध्यक्ष पुष्पकमल दाहालको कोटाबाट छनोट भएका हुन्। त्यस्तै, लामिछाने तत्कालीन एमालेनिकट प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष थिए। उनलाई ओली पक्षबाट नियुक्त गरिएको हो।

दुवै विश्वविद्यालय अघिल्लो भदौदेखि पदाधिकारीविहीन रहँदै आएका आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।