फेवातालको सीमांकन विवाद टुंग्याउन मन्त्रीको निर्देशन


पोखरा, कार्तिक २८ । भूमि सुधारमन्त्री पद्मा अर्यालले विगतको तथ्य, प्रमाण र दस्तावेजका आधारमा फेवातालको सीमांकन विवाद टुंग्याउन निर्देशन दिएकी छिन्। नेपाल सरकारले गठन गरेको फेवातालको चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको बिहीबार पोखरामा आयोजित पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले विगतका तथ्य, प्रमाण दस्तावेजसँगै विभिन्न समयका प्रतिवेदनका आधारमा फेवातालको चार किल्ला निर्धारण गर्न निर्देशन दिएकी हुन्।

‘फेवातालको मापदण्डमा एकरूपता कायम गर्दै सबैको सहयोग र समन्वयमा निष्कर्षमा पुग्नू, ‘उनले भनिन्, ‘विगतका तथ्य, प्रमाण, दस्तावेज तथा अग्रजहरूको अनुभवलाई हेक्का राखेर फेवातालको चारकिल्ला निर्धारण गर्नू।’ उनले चारकिल्ला कायम गर्दा प्रविधिको प्रयोग, यसअघि विश्वप्रकाश लामिछानेलगायत विभिन्न समितिहरूले बनाएको प्रतिवेदन, उपलब्ध नक्सा र फेवासँग जानकार विज्ञ तथा अनुभवप्राप्तहरूसँगको निरन्तरको छलफलबार्टमा पुग्न पनि उनले सुझाव दिइन्।

मन्त्री अर्यालले फेवातालको अतिक्रमित भूमि मालपोत ऐनअनुसार फिर्ता ल्याइने बताइन्। फेवातालको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको दूषित जग्गा सरकारले फिर्ता ल्याएरै छाड्ने उनको भनाइ छ। तर त्यसका लागि तथ्य र प्रमाण जुटाउनुपर्ने भन्दै समितिलाई इमानदारीपूर्वक काम गर्न आग्रह गरिन्। विगतमा पटकपटक समिति बने पनि निष्कर्षमा नपुगेको कुरालाई हेक्का राखेर काम गर्न निर्देशन दिँदै उनले यो समिति नाम मात्रको समिति नबन्ने र यो समिति नै अन्तिम समिति बन्ने विश्वास रहेको बताएको नागरिक दैनिकमा खवर छ ।