विदेशमा बढ्दै अकबरेको माग


इलाम, मंसिर ३० । किसानका लागि आम्दानीको भरपर्दो स्रोत बन्न थालेको अकबरे खुर्सानीको माग अहिले बजारमा उच्च छ । मौसम चिसो भएसँगै अकबरेको माग बढ्नु स्वाभाविक हो तर यो वर्ष किसानले लगाएको अकबरे खेती रोगले सखाप भएपछि उत्पादन कमी भएका कारण पनि माग उच्च भएको किसानको बुझाइ छ । यो वर्ष किसानको घरघरबाटै यो सिजनमा प्रतिकिलो ४८० रुपियाँदेखि पाँच सय रुपियाँ दरले अकबरे बिक्री भइरहेको छ ।

सूर्योदय नगरपालिका–१२, आठघरेका किसान मदन राईले त यो वर्ष प्रतिकिलो छ सय रुपियाँका दरले पनि अकबरे बिक्री गर्नुभएको छ । सात वर्षयता अकबरेको व्यावसायिक खेती गरिरहेका राईले उत्पादन गरेको अकबरेको माग त स्थानीय बजारदेखि विदेशमा समेत रहेको बताए । राईले यो वर्ष दुई सय किलो अकबरे हङकङ पठाएको बताएका छन्। भारत, अमेरिका, साउदी, कतार, मलेसिया र हङकङमा बसोबास गर्ने नेपालीले इलामको अकबरे माग गर्ने गरेका छन् ।

राई भन्नुहुन्छ, “ती देशबाट आएको मागअनुसार हामीले अकबरे पठाउनै सक्दैनौँ । ” राईले पूर्ण अर्गानिक अकबरे उत्पादन गर्ने भएकाले पनि माग उच्च रहेको छ । १० हजार बोट अकबरे लगाएका राईले मङ्सिर बित्न लाग्दा पनि अझै अकबरे टिप्दै छन् । तीन सय किलो अकबरे बिक्री गरिसकेका राई बताउन्छन्, “विभिन्न मसला उद्योग र चाउचाउ उद्योगको माग धान्न पनि सकिँदैन । ”

राईसँग दाना अर्थात् अकबरेको बीउको माग पनि उत्तिकै छ । गत वर्ष प्रतिकिलो २५ हजार रुपियाँका दरले सात किलो दाना बियाँ गरेका राईले यो वर्ष पनि बीउको तयारी गरिरहेको बताए। धेरै किसानको खुर्सानी बगान नै सखाप हुँदा पनि रोग देखा नपरेकाले उत्पादन राम्रो भएको राईको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

Skip This

Omoda E5 Pro