भिसामा मनपरी निर्णय


काठमाडौं, मंंसिर ३० । गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिसा)को म्याद गुज्रिएका विदेशी नागरिकलाई फिर्ता नपठाई फेरि अर्को वर्ष ९२०२१०का लागि भिसा दिने विवादास्पद निर्णय गरेको छ। पर्यटक भिसामा १ सय ५० दिन बसिसकेका विदेशीलाई नेपाल बसिरहेकै अवस्थामा पुनः पर्यटक भिसा दिन मिल्दैन।

अध्यागमन नियमावलीको नियम ६ (२)मा ‘पर्यटक भिसा एक भिसा वर्षमा बढीमा पाँच महिनाका लागि दिइनेछ’ भन्ने स्पष्ट प्रावधान छ। तर, गृहले उक्त नियमावलीविपरीत भिसा नियमित गरेर अर्को वर्षका लागि पनि भिसा दिने निर्णय गरेको हो। मंसिर २३ को गृहमन्त्रीस्तरीय उक्त निर्णय अध्यागमन नियमावलीविरुद्ध छ।

अन्तर्राष्ट्रिय उडान भइरहेका मुलुकका नागरिकलाई फिर्ता नपठाई अर्को वर्षका लागि पनि भिसा दिने गृहको निर्णय आश्चर्यजनक छ। अन्तर्राष्ट्रिय उडान भइसकेका चीनलगायत अन्य मुलुकको नागरिकका हकमा गृहको उक्त निर्णय सान्दर्भिक छैन। गृहले त्यस्ता विदेशीलाई निष्कासन गर्नुको सट्टा कोरोना भाइरसको जोखिम देखाउँदै आवश्यक अध्ययन, अनुसन्धानबिनै भिसा नियमित गर्ने विवादास्पद निर्णय गरेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।