पृथ्वीनारायणको अपमान र देशको रचनाप्रति घृणा जगाउने ग्रान्ड डिजाइन


दीपेश केसी: दुश्मनको समाजलाई ध्वस्त पार्ने १२ वटा सूत्रबारे वासिङ्टन पोष्टको सन् २०१८ को अगष्ट १९ को अंकमा लेख लेख्दै अमेरिकी लेखक एल टोड वुडले चौंथो नम्बरमा भनेका छन्, ‘कुनैपनि समाज ध्वस्त गर्नुपर्दा म शैक्षिक प्रणाली ध्वस्त पार्दै विश्वविद्यालय प्रणालीमा मार्क्सवादी प्राध्यापकहरु स्थापित गर्दै नयाँ पुस्तालाई ‘आफ्नो इतिहास’ (अमेरिकी इतिहास) बारे केही नपढाई दिमागभर कम्युनिष्ट प्रोपोगान्डाले भरिदिन्छु । उनीहरुले जर्ज वासिङ्टन, लिंकन र जेफर्सनबारे केही थाहापाउनेछैनन तर माल्कोमा र लेनिनबारे जान्नेछन् ।’ उनले समाज ध्वस्त पार्ने सूत्रमध्ये ११ औं नम्बरमा लेखेका छन्, ‘म इतिहासका नायकहरुको शालिक भत्काउन लगाउँछु । देशको रचनालाई नै घृणा गर्ने बनाउँछु ।’

टोडको विश्लेषणलाई आधार मान्ने हो भने अहिले नेपाली समाज र राष्ट्रलाई ध्वस्त पार्ने अभियान चलाइएको छ । शैक्षिक प्रणालीमा कम्युनिष्ट प्रोपोगान्डा भरिएको छ जसका लागि मार्क्सवादी प्राध्यापकहरु विश्वविद्यालयमा भरिदै गएका छन् । तिनीहरुको माध्यमबाट नेपाल राष्ट्र एकीकरण गर्ने देखि अझै बलियो बनाउन योगदान गर्नेहरुलाई दानव चित्रण गर्दै विद्यार्थीको दिमाग भर्ने अभियान चलिरहेको छ । अर्कोतर्फ, पृथ्वीनारायण शाह, जंगबहादुर राणा देखि महेन्द्रको शालिक भत्काइएको इतिहास साक्षी छ । जंगबहादुरले आफै आफ्नो शालिक झिक्न लगाएको रुसी लेखक मिनाएभको कृतिमा उल्लेख इतिहासबारे कहीं कुनै पाठ्यक्रममा समावेश गरिएको छैन । यीनीहरुको योगदान भन्दा बदनामीको पाठ पढाउन थालिएको छ । पृथ्वीनारायण शाहभन्दा कार्ल र्माक्स, लेनिन र माओत्से तुङको गुणगान पढाइन्छ । लेखक वुडले जसरी समाज ध्वस्त पार्ने सूत्रबारे भनेका छन् यस्तै प्रयोग नेपालमा भइरहेको छ ।

राष्ट्रको एकीकरण गर्ने महानायकप्रति घृणाभाव जगाउने गतिविधिमा कम्युनिष्ट प्रोपोगान्डा जिम्मेवार छ । गणतन्त्र कम्युनिष्टको मुख्य एजेन्डा थियो । त्यही गणतन्त्र स्थापना पछि पृथ्वीनारायणको योगदान मेटाउने गतिविधि भए । यसमा नेपाली काँग्रेस समेत मूकदर्शक बन्ने देखि कतिपय काँग्रेस नेता सहयोगी बन्नपुगे । मार्क्सवादी, लेनिनवादी, माओवादी र कम्युनिष्ट विचारधाराका नाममा राष्ट्रनिर्माताको अपमान गर्ने सिलसिला चलिरह्यो । राष्ट्रनायकहरुलाई खलनायक जस्तो देखाएर नयाँ पीढीको दिमागमा आफ्नै देश बनाउनेप्रति घृणा जगाउने क्रियाकलाप भइरह्यो । यी सबै गतिविधि नेपाली समाज ध्वस्त पार्ने योजनावद्ध रणनीति अन्र्तगत भइरहेका छन् । जसलाई घटनाक्रमले पुष्टि गर्दै लगेको छ ।

पृथ्वीजस्तै पृथ्वी
पृथ्वीनारायण शाह तत्कालिन परिस्थितिले जन्माएको शासक हुन् । यूरोपमा तिव्र रूपमा औद्योगिकीकरणसहित आमूल परिवर्तनको माहोल तयार हुँदै थियो । यूरोपेली देशहरूले विश्वभर साम्राज्य स्थापनालाई गति दिदै थिए । भारतलगायत एशियाली देशहरूमा बेलायतीहरूको उपस्थिति बढ्दै थियो । साम्राज्य खडा गर्ने नियतले रणनीतिक चाल चालिएको थियो । हालको काठमाडौं उपत्यका तथा तत्कालिन नेपाल खाल्डोमा रोमबाट पोपद्वारा खटिएका क्रिश्चियन पादरीहरूको बसोबास शंकास्पद थियो । नेपालमा बाइसे चौबीसे राज्यहरूको अस्तित्व थियो । एकले अर्कालाई हराएर धनसम्पत्ति लुट्ने र सताउने क्रम सदीऔं देखि चल्दै आएको थियो । यस्तो अवस्थाबीच देशको आन्तरिक र बाह्य परिस्थिति पृथ्वीनारायण शाहको उदयको कारण बन्यो ।

पृथ्वीनारायण शाह कुनै समसुद्धिन थिएनन् जसले कुनै कालमा काठमाडौं उपत्यकामा आक्रमण गरी धनसम्पत्ति लुटेर पौराणिक धरोहर सकेजति ध्वस्त पारेर फर्किएका थिए । उनी न त मँगोलियाका घुमन्ते शासक चेँगिज खाँ नै थिए जसले आफ्नो नश्ल फैलाएर अरुको नश्ल नष्ट पार्ने क्रुरता देखाए । शाहले काठमाडौं उपत्यकामाथि आक्रमण गरेर धनसम्पत्ति लुटेर फर्किएनन् बरू त्यही जरा गाडेर शासन शुरू गरे । स्थानीय संस्कृतिको सम्मान गरेर त्यसैलाई अँगिकार गरे । नेपालको भौगोलिक एकीकरण र विस्तारलाई गति दिए । योद्धाबाट हारेकाहरूले समेत न्याय पाउने अपेक्षा सायदै होला । तर जितेको भूमीको संस्कृतिको सम्मान गर्नु सकारात्मक हो ।

पृथ्वीनारायण शाहले जे जस्तो शैली अपनाएर पनि नेपाल एकीकरणको अभियान चलाएको वास्तविकता हो । विशेष परिस्थितिमा पृथ्वीनारायण शाहको उदय भएको हो । उनी व्यक्तिविशेष मात्र नभई परिस्थितिले जन्माएको पात्र पनि हुन् । तर योगदानलाई बिर्सन सकिदैन । पृथ्वीनारायण शाह नेपालको इतिहासका हालसम्मकै सबैभन्दा प्रभावशाली र प्रतिभाशाली शासक हुन् । भौगोलिक एकताको प्रारम्भ गर्नुका साथै सांस्कृतिक एकताको पहल समेत गरेका थिए । वर्तमानको चश्माले हेर्दा होस् या विगतको चश्माले हेर्दा नै किन नहोस् उनी वर्तमान नेपाललाई आकार प्रदान गर्ने एकीकरणकर्ता अभियानका नेतृत्वकर्ता हुन् । पृथ्वीनारायाणले तरबारको धारले सीमा कोरेका हुन् । संग्राहालयमा सुरक्षित उनको तरबार देखेर कोही गर्व गर्लान् कोही आक्रोशित होलान् । गर्व गर्न र नगर्न सबैलाई छूट छ । आज हामी जुन देशमा बसेका छौं त्यसको निर्माता पृथ्वीनारायण शाह हुन् । उनको योगदानको अवमूल्यन गर्न खोज्नु राष्ट्रमाथि प्रहार गर्न खोज्नु नै हो । किनभने राष्ट्र भनेको भूगोल मात्र होइन इतिहास पनि हो ।

सचेत हुनुपर्ने कारण
तपाईंको आफ्नो देश निर्माणकर्ता र रक्षाकर्ताको इतिहास पढाइँदैन र सुनाइँदैन भने मान्नुहोस् तपाईंको समाज र देशप्रति तपाईंको दूरी बढाइँदैछ । तपाईंकै समाज र इतिहासका नायकहरुप्रति घृणा जगाउन खोजिदैछ । समाज ध्वस्त पार्न खोजिदैछ । पृथ्वीनारायण शाहको रचनात्मक कदमको अवमूल्यन गरी अपमान गर्न खोज्नेहरु कदापि राष्ट्रप्रेमी हुनसक्दैनन् । कम्युनिष्ट प्रोपोगान्डा पृथ्वीनारायण शाहको अपमान गर्दै र्माक्सवादीहरुलाई जताततै स्थापित गर्न लागिपरेको छ । यो समाज ध्वस्त पार्ने अभियान अन्र्तगत हो जसबाट बेलैमा सचेत हुन जरुरी छ । जुन देशमा शासकहरु मार्क्स र माओको जयजयकार गर्दै जन्मजयन्ती मनाउँछन् र राष्ट्रनिर्माणकर्ताको अपमान गर्छन् भने मान्नुहोस् ती देशका शासक समाज, संस्कृति र कालान्तरमा राष्ट्रलाई बर्बाद पार्ने कुटिल चालको भारी बोकेर हिंडिरहेका छन् ।

Skip This

Omoda E5 Pro