सातसय १९ लाभग्राहीले घर निर्माणका लागि सम्झौता गरेनन्


दमौली, ३ माघ: विसं २०७२ को भूकम्पबाट घर भत्किएर पुनःनिर्माणको सूचीमा समावेश भएका ७०० लाभग्राहीले घर निर्माणका लागि सम्झौता गरेका छैनन् । कूल १४ हजार ३९५ लाभग्राही रहेकामा हालसम्म १३ हजार ६७६ लाभग्राहीले मात्रै निजी आवास पुनःनिर्माणका लागि सम्झौता गरेका हुन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँका प्रमुख जयप्रकाश गुप्ताले अनुदान सम्झौताका लागि पटकपटक आह्वान गरे पनि ७१९ जनाले सम्झौता नगरेको जानकारी दिए । अनुदान सम्झौताका लागि गत मङ्सिर मसान्तसम्म म्याद रहेको थियो ।

आवास पुनःनिर्माणका लागि सम्झौता नगरेसँगै त्यस्ता लाभग्राही अनुदान प्राप्त गर्नबाट वञ्चित भएका छन् । व्यास नगरपालिकामा दुई हजार ९३ लाभग्राही कायम भएकामा दुई हजार दुई, भानु नगरपालिकामा चार हजार ५५१ लाभग्राही कायम भएकामा चार हजार ३८८, बन्दीपुर गाउँपालिकामा एक हजार २४ लाभग्राही कायम भएकामा ९४४, आँबुखैरेनी गाउँपालिकामा ७५२ लाभग्राही कायम भएकामा ७३३ र देवघाट गाउँपालिकामा ६१९ लाभग्राही कायम भएकामा ५९३ रहेका छन् । यसैगरी घिरिङ गाउँपालिकामा ३१७ लाभग्राही कायम भएकामा २९३, भीमाद नगरपालिकामा एक हजार १४५ एक हजार ४२, म्याग्दे गाउँपालिकामा एक हजार ३९२ लाभग्राही कायम भएकामा एक हजार ३११, शुक्लागण्डकी नगरपालिकामा एक हजार ९५७ लाभग्राही कायम भएकामा एक हजार ८५३ र ऋषिङ गाउँपालिकामा ५४५ लाभग्राही कायम भएकामा ५१७ ले मात्रै सम्झौता गरेका छन् ।-रासस/File photo