काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिदै आएको समर्थन माओवादी केन्द्रले फिर्ता लिने निश्चितप्रायः भएपछि सरकारले विश्वासको मत लिनुपर्ने भएको छ । ओलीले अब काँग्रेस या जनता समाजवादी पार्टीको समर्थन नपाए सरकार ढल्ने निश्चितप्रायः भएको छ ।
एमालेभित्र ओली सरकार टिकाउने या माधवकुमार नेपाल नेतृत्वमा सरकार बनाउने गृहकार्य चलेको छ । जसरी पनि चुनावसम्म एमाले नेतृत्वको सरकार बनाउने गरी गृहकार्य शुरु भएको हो ।
विश्वस्त स्रोतका अनुसार एमाले उपाध्यक्ष बामदेव गौतम वामपन्थी सरकार अझै दुई वर्ष बनाएर चुनावमा कार्यगत एकता गरेर जाने सुत्रसहित सक्रिय भएका छन् । उनले अबको एक वर्ष एमालेले सरकार चलाउने र अर्को एक वर्ष माओवादी केन्द्रले सरकार चलाउने गरी सुत्र बनाएर सक्रियता बढाएका हुन् । तर, यसमा प्रचण्ड सहमत हुने सम्भावना कम छ ।
एमालेकै सरकार टिकाइराख्न माधव नेपाललाई अगाडि बढाउने विकल्पबारे पनि छलफल बढेको बुझिएको छ । यस्तो अवस्थामा माओवादी केन्द्रको समेत साथ हुने बुझाई नेपाल निकटस्थ एक नेताले बताए ।
अर्को विकल्पमा जनता समाजवादी पार्टीको समर्थनमा ओली सरकार नै टिकाउने गृहकार्य समेत चलेको छ । तर, त्यो सम्भावना कमजोर छ ।
एमाले सरकार नै टिकाउन ओलीको विकल्पमा नेपाललाई बढाउने प्रयास भइरहेको छ । तर, त्यसमा ओली सहमत हुने सम्भावना कमजोर छ । ओली सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था बनेको अवस्थामा पनि एमालेकै नेतृत्वमा सरकार बनाउने गरी रणनीतिक गृहकार्य चलेको बुझिएको छ ।




प्रतिक्रिया