काठमाडौं, फागुन २९ । महाशिवरात्रिका दिन बिहीबार लाखौं भक्तजनले पशुपतिनाथ मन्दिरमा भगवान् शिवको दर्शन र पूजाआजा गरेका छन्। विगत वर्षजस्तो भीडभाड नभए पनि झन्डै ८ लाख भक्तजन पाशुपत क्षेत्र पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
बिहान साढे ३ बजेदेखि मन्दिरका ढोका खोलिएको र रातभर खुला राखिने कोषका कोषाध्यक्ष डा। मिलनकुमार थापाले बताए। ‘रातभर पनि खुला हुने भएकाले ९ बजेसम्म लाइनबाटै दर्शन भइरहेको छ’, कोषाध्यक्ष डा। थापाले भने।
कोरोना भाइरसका कारण यसपटक नागाबाबाको संख्या सय र अरू साधुसन्तको संख्या ३ सयमा सीमित रह्यो। विगत वर्ष नागाबाबाको संख्या ५–६ सय पुग्थ्यो। अन्य साधुसन्तको संख्या २ हजारभन्दा बढी हुन्थ्यो। मलेसियालगायत देशबाट आउनेको संख्या पनि एकदमै न्यून थियो।
कोषले केही दिनअघि भक्तजनलाई मास्क अनिवार्य लगाउन भनेको थियो। सकेसम्म दूरी कायम राख्न पनि आग्रह गरेको थियो। ‘सबैजसो भक्तजनले दूरी राख्न त सम्भव भएन तर मास्क नलाउनेलाई फर्काउने भनिएकाले सबैले लगाएको पायौं’, कोषका निमित्त उपनिर्देशक एवं शिवरात्रि पर्वका प्रवक्ता रेवती अधिकारीले भने, ‘कतिपय संस्थाले मास्क त कतिपयले स्यानिटाइजर ठाउँठाउँबाट बाँडे। निःशुल्क खाना र चियापानीको व्यवस्थाले पनि भक्तजनलाई सहज बनाएको थियो।’ अन्नपूर्ण पोस्ट् दैनिकबाट




प्रतिक्रिया