बारा, फागुन २९ । जितपुर सिमरामा एक बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार जितपुर सिमरा उपमहानगरपालिका–१० बेहरा टोलमा शव भेट्टाएको थियो । उक्त शव जितपुर सिमरा–२३ भलुही नितनपुर निवासी जाकिर हुसेनका १४ वर्षीय छोरा सहिद हुसेनको भएको बारा प्रहरीले जनाएको छ ।
बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले शवको केही भाग कुहिएकाले बालकको पहिचान गर्न मुस्किल परेको बताए । सहिदका बुबा जाकिरले शव पहिचान गरेका हुन् । जाकिरले फागुन ११ गतेदेखि छोरो हराएकाको खोजतलास गरिदिन इलाका प्रहरी कार्यालय सिमरामा निवेदन दिएका थिए । शवमा रहेको कपडाबाट जाकिरले छोरा पहिचान गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।
बिहान खेतमा काम गर्न गएकाहरूका लागि खाना लिएर खेतमा जाने क्रममा एक स्थानीय महिलाले उक्त शव देखेर गाउँलेलाई जानकारी गराएका थिए । फूलबारीछेउमा फालिएको अवस्थामा भेटिएको उक्त शव लगभग गलिसकेको रहेको प्रहरीले जनाएको छ । उनको मृत्युको खास कारण खुल्न नसके पनि हत्या नै भएको हुन सक्ने आशंका बारा प्रहरीले गरेको छ । नागरिक दैनिकबाट




प्रतिक्रिया