विराटनगर, चैत ११ । प्रदेश १ का मुख्य दुई नाकामध्ये रानी–जोगबनी बन्दप्रायः छ। तर, काँकडभिट्टा–पानीट्यांकीबाट बाक्लो आउजाउ चलिरहेको छ। यता रानीको मुख्य गेटमा ताला लागे पनि एक किलोमिटर आसपासबाट चोरबाटो हुँदै हुलका हुल आवतजावत गर्छन्।
काँकडभिट्टा–पानीट्यांकीमा रहेको मेची पुलमा बिहानदेखि घुइँचो लाग्ने गरेको छ। भारतीय पक्षले आफ्नो मुलुकमा आउनेलाई बिहान ९ बजेपछि मात्र प्रवेश दिने गरेको छ। भारतीय पक्षले आउनेको स्वास्थ्य परीक्षण गर्ने भए पनि नेपाल प्रवेश गर्नेलाई कुनै परीक्षण गरिँदैन। काँकडभिट्टा नाका भएर विभिन्न जिल्लाका नेपाली भारतबाट भित्रिन्छन्।
सरकारले एक महिनाअघि अनलाइन फारम भरेपछि भारतीयलाई प्रवेश गर्न दिने नियम बनाएको थियो। रानी–जोगबनीबाट सोही नियममा रही दैनिक १०–१२ जना मात्र आवतजावत गर्छन्। तर, हजारौंले चोरबाटो रोज्ने गरेका छन्। पुरानो रानी गेट यात्रु आवतजावत गर्ने नाका मात्र भएकाले ताला लगाए पनि जोगबनी किनमेल गर्न जानेहरू अन्य ठाउँबाट दैनिक ओहोरदोहोर गर्छन्।
भारतमा फेरि कोरोना संक्रमण बढेपछि मुख्य नाकामा हेल्थ डेस्क राख्न प्रशासनले चासो देखाए पनि अन्य ठाउँबाट आवतजावत हुने क्रम रोक्न कुनै निर्णय छैन। रानी–जोगबनी नाकामा सोमबारदेखि हेल्थ डेस्क सक्रिय गराइएको छ। डेस्कमार्फत नेपाल प्रवेश गर्न चाहनेको परीक्षण तत्कालै गर्ने व्यवस्था मिलाइएको छ। परीक्षणपछि नेपाल आउनेमा कोरोना संक्रमण भएरनभएको यकिन हुने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए। भारतबाट आउनेहरू कोरोना परीक्षणपछि मात्रै प्रवेश गर्न पाउने निरौलाको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना नियन्त्रण गर्न र संक्रमण थप फैलन नदिन बेलैमा सतर्कता आवश्यक रहेको निष्कर्ष निकालेको छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट




प्रतिक्रिया