जापानको जस्तो राजा


बालकृष्ण नेउपाने: हिजो २०५१ सालमा ४० बुँदे माग राखेर भारत विरोधी राष्ट्रियता पक्षवाला माग थिए । त्यो माग हेरेर यो माग पूरा भयो भने हामी मरे पनि हाम्रा सन्ततिले सुख पाउँछन् भनेर १७ हजार मान्छे मरे । यिनै मान्छे ‘संसद् भनेको खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थालो हो । त्यसकारण यो संसदीय व्यवस्थाले देश अगाडि बढ्दैन, विकास पनि हुँदैन’ भन्थे । अब अहिले तिनै मान्छे यो संसदीय व्यवस्थामा लागेर कतिसम्म भन्छन् भने, ‘भारतको कम्फटेबल सरकार बनाउनु प¥यो’ । नेपालको सरकार त नेपाली जनताको कन्फटेबल हुनुपर्नेमा बाह्रबुँदे दिल्ली सम्झौता गर्ने हाम्रा नेताहरूले भारतको अनुकूल सरकार भनेपछि त्यहीं अभिव्यक्तिले नेपाल संकटमा छ ।

पृथ्वीनारायण शाहले नेपाली जनता, सेना र राजा भएर एकीकरण गरेको देश हो । फेरि नेपाली जनता, नेपाली सेना र राजा मिलेर यो देशको संरक्षण गर्नुपर्ने गहन दायित्व आएको छ । त्यो गहन दायित्व पूर्वराजाले पनि बुझ्नुपर्छ । पूर्वराजाले ‘अब जनतासमक्ष आएँ, यो देश जोगाउन यो यो समस्या छन् भनेर नेतृत्व उहाँले गर्नुभयो भने एउटा भूमिका त्यहाँ हुन्छ । हिजो यो देश जोगाउन पृथ्वीनारायण शाहले बिसे नगर्चीका घरमा गएर चन्दा उठाए । बनारसबाट मुसलमानहरू ल्याएर यहाँ हतियार बनाए । त्यसको बलमा अग्रमोर्चामा गएर यो देशलाई एकीकरण गरे । त्यो सर्भिस फेरि राजाले गर्नुपर्छ भन्ने आमजनताको भावना छ ।

अहिले संघीयता मात्रै संकटमा परेको होइन । यो संविधान, गणतन्त्र, धर्मनिरपेक्षता सबै संकटमा परेको छ । किनभने ८३ प्रतिशत पैसा यो संविधानले सामान्य खर्चमा खर्च गर्छ । यहाँ ८ वटा राष्ट्रपति छन् । ८ वटा प्रधानमन्त्री छन् । ८८६ सांसद छन् । १ सय ४४ मन्त्री छन् । यो आवश्यकै छैन । यो देशलाई १० जना मन्त्री सय जना सांसद, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री । संसद सदस्य मन्त्री हुन नसक्ने । त्यसपछि पञ्चायतकालदेखि अहिलेसम्मको सम्पत्ति छानबिन गर्ने एउटा नागरिक आयोग । यो बाह्रबुँदे दिल्ली सम्झौताबाट आएका व्यक्तिहरू असफल भएपछि अब नागरिक सरकार गठन गर्नुपर्छ । यो जोगाउने हैसियत अब नेपाली जनतासँग मात्रै छ । अरू कसैले जोगाउन सक्दैन । त्यसैले यो सबैका लागि सडकमा आउनेबाहेक अरू कुनै विकल्प छैन । यो संसद् जति राखिन्छ, नेताहरू जति राख्नुहुन्छ योभन्दा खराब हालत हुँदै जान्छ ।
इतिहासको पृष्ठभूमि हेर्दा हरेक १०, १२ वर्षमा नेपालमा सत्ता परिवर्तन भएको छ । तर अहिले नेपाली जनतालाई केही पनि भएन । अब यो व्यवस्थामा भ्रष्टाचारको अखडा भयो । लोकतन्त्र होइन लोभतन्त्र भयो । पुष्पकमल दाहालले क्यान्टोनमेनमा ३४ अर्ब भ्रष्टाचार गरे भनेर डा. बाबुराम भट्टराई भन्दै थिए । अहिले विप्लवले भन्छन् । प्रकाण्ड मलाई सरकारले अख्तियार दिन्छ भने त्यो पैसा नेपाल ल्याउँछु भन्छन् । अहिलेका मन्त्री टोपबहादुर रायमाझीले पनि पुष्पकमल दाहालले क्यान्टोनमेनमा भ्रष्टाचार गरे भन्छन् । २०६३ सालको आन्दोलनमा पृथ्वीनारायण शाहको सालिक किन तोडियो ? पृथ्वीनारायाण शाहले यो नजोगाइदिएको भए अहिले कुन देशमा बसेर भ्रष्टाचार गर्ने ? कुन देशमा अन्याय, अत्याचार गर्थे ?

अहिलेसम्म नेताहरूको काम कारबाही हेर्दा यो भारतको अनुकूलको सरकार गठन गर्नु भनेको हो ? १२ बुँदे गरेका । रोल्पाबाट सुरुङ युद्ध गरेका मान्छे । भारतीय विस्तारवाद भन्थे, असमान सन्धि, सम्झौता खारेजी भन्थे । गोर्खा भर्ती केन्द्र बन्द गर्छौं भन्थे । सत्ता र कुर्सी लडाईंँ त्यहीं एउटा कुरो रहेछ ४० बुँदे माग । त्यसरी संघर्ष गरेर आएका नेताहरूले सशासन सत्तामा पुगिसकेपछि देशमा सुशासन ल्याइदिएको भए, भ्रष्टाचार नियन्त्रण गरिदिएको भए, सिंगापुर बनाइदिएको भए, सबैले रोजगार पाएको भए हामी पनि देशलाई सिंगापुर बनाउने नेताको फोटो राख्ने थियौं । तर, दुर्भाग्य नयाँ नेपाल भने पुरानो बिहार बनाए । यस्तो अत्याचार हुँदा पनि नेपाली जनता जाग्दैनन् भने हाम्रो देश जोगिनेवाला छैन । अब देश जोगाउने आन्दोलन, क्रान्ति गर्नुपर्छ । अहिले देश जोगाउने र विभक्त गर्ने समाज दुई धारमा बाँडिएको छ ।

देश जोगाउने अभियानमा ‘नेपालका लागि नेपाली’ लागिराखेको छ । गिरिजाले टनकपुर बेच्दा मैले मुद्दा गरेर त्यसको हक दिलाएँ । नेपाल श्रम ऐनमा विदेशी मजदुरलाई काम दिने व्यवस्था गरिएको थियो । मुद्दा हालेर बदर गराएर नेपालीको हक दिलाएँ । यहाँ प्रधानमन्त्री, मन्त्रीहरू र सांसदलाई अख्तियारले मुद्दा लगाउन पाउँदैन भन्ने कानुन ल्याए ।

देश जगाउनको लागि आन्दोलनमा सहभागी हुुनुपर्छ । भोलि राजाले पनि गल्ती गरे भने फेरि उनलाई बिदा गरौं । अर्को त कुनै राष्ट्रवादी शक्ति नै फेला परेन । अब दलका नेताहरूबाट सम्भव भएन । राजा र जनता मिलेर यो देश जोगाउनुपर्छ । देशभरका जनताको चाहना त्यही लाइनमा छ । त्यति मात्रै यो देशबाट संघीयता, धर्मनिरपेक्षता र संघीयता खारेजी गर्नुपर्छ । हिजोको जस्तो अधिकार सम्पन्न राजा होइन । संसद्को निर्णय मान्छे बेलायत र जापानको जस्तो राजा हाम्रो मुलुकमा आवश्यकता छ । अब राजाले खेल खेल्ने होइन रेफ्रीको भूमिका हुनुपर्छ । राष्ट्रिय एकताको प्रतीकको रूपमा राजाले भूमिका खेल्नुपर्छ । एउटा राजा बिदा गरेर हजार राजाहरू आए । त्यसैले अब नेपाली जनतालाई हजार राजाको आवश्यकता छैन ।-वरिष्ठ अधिवक्ता नेउपानेको यो विचार रिपोर्टर्स क्लब नेपालको स्मारिकामा प्रकाशित छ

Skip This

Omoda E5 Pro