भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता


ललितपुर । रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा परी एक सय ५७ जना अझै सम्पर्कविहीन छन्। उनीहरुको जनाको खोजी कार्य जारी छ।

सम्पर्कविहीन भएकामध्ये नौ जना भेटिएका छन्। भेटिनेमा तीन पुरुष, दुई महिला र चार बालबालिका रहेका छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेका अनुसार एक सय १५ पुरुष, ३९ महिला र तीन बालकको खोजी कार्य जारी छ।

बेपत्ता भएकामध्ये अन्य जिल्ला स्थायी ठेगाना भएर ललितपुर बस्ने ९९ जना छन्। जसमा ८१ पुरुष, १७ महिला र एक बालक छन् । बाढीमा परी ललितपुरमा बसोबास गर्ने ४१ विदेशी नागरिक हराइरहेका छन् । बेपत्ता विदेशी नागरिकमा २० महिला, १९ पुरुष र दुई बालक छन् । जसमा युक्रेनका १३, अस्ट्रेलियाका १०, अमेरिका र भारतका पाँच–पाँच, चीनका चार, कोरियाका तीन र बेलायतका एक जना छन्।

यस्तै बाढीमा परी घाइते भएका २४ जना (२० पुरुष, तीन महिला र एक बालिका)मध्ये २२ जना उपचारपछि घर फर्किएका छन्। एक जना पुरुषको ग्वार्कोस्थित बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ भने बालिकाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रजिअ घिमिरेले जानकारी दिए।

बाढीमा परी ज्यान गुमाएका पाटन सुन्धाराका दुई जना (एक महिला र एक पुरुष) को शव परिवारको जिम्मा लगाइएको प्रजिअ घिमिरेले बताए।