एमसीसीको विरोधमा देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी
काठमाडौं, ६ बैशाख । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले एमसीसी नेपालको हितमा नभएको भन्दै यो लागु गर्न नहुने स्पष्ट पारेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले एमसीसी पारित गरे देश समाप्त हुने ठोकुवा गरेका छन्।
उनले अमेरिकाले नेपाललाई ५० अर्ब दिएर ५० खर्ब आम्दानी गर्ने योजना बनाएको पनि उनको दाबी छ । एमसीसी कुनै संस्था वा एनजिओ नभएको पनि उनले उल्लेख गरे । उनले भने,‘एमसीसी संसद्बाट पारित गराउनु भनेको कानून बनाउनु हो । मन्त्रिस्तरबाट पारित गराए भईगयो नि त । नेपालजस्तो स्वतन्त्र मुलुकलाई अधिनमा राख्नका लागि यसो गर्न लागिएको हो । नेताहरुलाई रोक्नुहोस् । अमेरिकाको ईण्डो–प्यासिफिक रणनीति नेपालमा लागु भए भोलि नेपालमा कसैले पनि बोल्न पाउँदैनौं । नेपाल भनेर भोलि गौरव गर्न पाउँदैनौं ।’
शाहीले एमसीसीले नेपाललाई दास बनाउन खोजिन लागेको पनि टिप्पणी गरे । उनले भने,‘भक्ति थापाले ७० वर्षको वयोवृद्ध उमेरमा वीर गति प्राप्त गरेर आर्जेको देश हो, यो । शेरबहादुर देउवा र केपी ओलीले बेच्न पाउँदैनन् । यो देशमा सयौं वर्षको ईतिहास छ । आजसम्म पुर्खाले बचाएको देश हो नेपाल । अहिलेका नेताले ५९ अर्बमा देशलाई दास बनाउँदै हुनुहुन्छ । खबरदार ।’
एमसीसीका बुँदा पढ्नसमेत उनले आग्रह गरे । उनले भने,‘ती बुँदा राष्ट्रको हितमा छैनन् । मुलुक बच्यो भनेमात्रै सेलिब्रेटी बच्छ । देश बच्यो भनेमात्रै पार्टी बच्छ । एमसीसीको विरुद्धमा एकजुट बनौं । सडक आन्दोलन चर्काऔं ।’ उनले नेपालमा करिब २ सय जनाले मात्रै एमसीसीको समर्थन गरेको तर बाँकी देशका सबै नागरिकलाई यो बेठिक भएको दाबी गरे । उनले एमसीसीको विरोधमा देशव्यापी रुपमा आन्दोलन गर्ने पनि जनाए ।




प्रतिक्रिया