ओली-नेपाल भेटवार्ता जारी, नेपालको अडानमा ओली अझै सहमत भएनन्


काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता जारी छ । व्यवसायी रामेश्वर थापाको बुढानिलकण्ठको चपलीस्थित् घरमा दुई नेताबीचको भेटवार्ता जारी छ । पार्टीको विवाद उत्कर्षमा पुगेको बेला भएको दुई नेताबीचको भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ।

नेपाल पक्षधर सांसदहरुले आजै सामूहिक राजीनामा दिने बताएको बेला अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक राखेर नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेमाथि यसअघि गरेको निलम्बनको कारबाही फुकुवा गरेका छन् । लगत्तै, दुई नेताबीच भेटवार्ता तय भएको हो । आज विहानमात्रै अध्यक्ष ओलीको सन्देश बोकेर विष्णु पौडेल नेता नेपाल निवास पुगेका थिए ।

अहिले जारी भेटवार्तामा अध्यक्ष ओली नेता नेपालले अघि सारेका सबै मागमा सहमत हुन नसकिने अडानमा रहेको बुझिएको छ । नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गते फर्काउनुपर्ने र फागुन २८ गतेपछिका सबै निर्णय खारेज गर्नुपर्ने शर्त राखेका छन् ।

अध्यक्ष ओलीले पार्टीलाई ०७५ जेठ २ मा फर्काउन आफू लचिलो भएपनि फागुन २ गते यताका निर्णय फिर्ता नलिने स्पष्ट अडान लिएका छन् । बरु, यसको लागि कार्यदल बनाएर अघि जान सकिने ओली पक्षको प्रस्ताव छ । Phot Source: Surya Thapa/Facebook