काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनको सरकार निर्माणका लागि राष्ट्रपति कार्यालयमा पुगेको १४९ जना तत्कालिन प्रतिनिधि सभाका सदस्यमध्ये २६ जना नेकपा एमालेका थिए । उनीहरु सबै माधव नेपाल समूहका थिए । आज सबै १४९ जनाले हस्ताक्षर गरी सर्वोच्च अदालतमा ओलीको कदमविरुद्ध रिट दायरको तयारी भयो ।
संसद भवन नयाँ बानेश्वरमा निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि बोलाइयो । ओलीविरोधी गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका केही सांसदहरु हस्ताक्षरका लागि पुगे । तर, २६ मध्ये २० जना मात्र माधव नेपाल पक्षधर पूर्वसांसद पुगे । ६ जना अझै पुगेका छैनन् ।
माधव नेपाल समूहबाट एमालेको नवौं महाधिवेशनमा महासचिवका उम्मेदवार बनेका सुरेन्द्र पाण्डे पनि अपरान्ह मात्र पुगे । उनी खासै उत्साही देखिएनन् । हस्ताक्षर गरेको बताएपनि पाण्डेले त्यसको काम लाग्छ र ? भनी प्रश्न गरे । विश्वस्त स्रोतका अनुसार उनलाई नेपालले निकै सम्झाएपछि मात्र पुगेका थिए ।
हस्ताक्षर गर्नेमध्येका गोकर्ण बिष्टसहित ६ सांसद अझै पुगेका छैनन् । यसले ओलीविरोधी गठबन्धनभित्र तरंग नै आएको छ । हस्ताक्षरकर्ता रिट दायका लाग नपुगेमा संख्या घट्न गई प्रभाव कम हुन सक्छ ।-फाइल तस्बिर




प्रतिक्रिया