तनहुँमा बन्धकी खेतमा सामूहिक खेती गर्दै विपन्न


तनहुँ, ६ साउन । तनहुँको म्याग्दे गाउँपालिकास्थित एक सामुदायिक वनले बन्धकीमा खेत खरिद गरी विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको छ । म्याग्दे–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता समूहले बन्धकीमा खेत खरिद गरेर विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको हो ।

विपन्न वर्गका उपभोक्ताको जीविकोपार्जनमा सघाउन स्थानीय व्यक्तिको ३६ रोपनी बाँझो खेत बन्धकीमा खरिद गरी सामूहिक खेती गरिएको वन समूहका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिए । उनका अनुसार रु आठ लाख २५ हजारमा खेत बन्धकीमा खरिद गरी २५ जनाले त्यस खेतमा तीन वर्षदेखि खेती गरिरहेका छन् । “सामुदायिक वनमा आबद्ध विपन्न सदस्यलाई जीविकोपार्जनमा सहयोग पु¥याउन यो कार्यक्रम सञ्चालन गरेका हौँ”, उनले भने ।

उहाँका अनुसार यस खेतमा वर्षमा तीनपटक खेती गरिन्छ । वनका उपभोक्ताले यहाँ गहुँ, चैते र असारे धान रोप्दै आएका छन् । “चैते धान थन्क्याएर अब असारे धान रोप्न शुरु भएको छ”, उनले भने, “यहाँ खेती गरेर एक जनाले वार्षिक करिब १० मुरी धान उत्पादन गर्ने गरेका छन् ।”

सामुदायिक वनको कार्ययोजनाअनुसार न्यून आय भएका उपभोक्तालाई सामूहिक खेतीका लागि छनोट गरिएको छ । दैनिक ज्याला गरेर गुजारा गर्ने उपभोक्ता यसका लागि छनोट हुन्छन् । “ज्यालादारी गरेर बिहान–बेलुका छाक टार्नेलाई केही सहयोग होस् भन्नका लागि सामूहिक खेती गर्नका लागि खेत उपलब्ध गराएका छौँ”, उनले भन, “यहाँबाट उत्पादित धानले उनीहरुलाई चामल खरिद गर्नुपरेको छैन ।”

वन समूहमा आबद्ध विपन्न समुदायलाई सामूहिक खेतीमा सहभागी गराउन सार्वजनिक सूचना टाँस गरेर निवेदन आह्वान गरिन्छ । निवेदन पेश गरिसकेपछि वन समूहले न्यून आय भएका उपभोक्ता छनोट गर्छ । खेती गर्नका लागि उपभोक्ताले रु ५० को निवेदन र धरौटीवापत रु एक हजार जम्मा गर्नुपर्ने प्रावधान बनाइएको छ । “छनोट भएर बीचैमा नछाडुन् भन्नका लागि धरौटी राखिएको हो, पछि उपभोक्तालाई नै त्यो रकम फिर्ता गर्छौँ”, खनालले भने । रासस

Skip This

Omoda E5 Pro