ओलम्पिकमा नेपाल किन सधै पदकविहिन ?


काठमाडौं, २४ साउन । टोकियो ओलम्पिकमा नेपाल पदकविहिन भएको छ । आज ओलम्पिकको अन्तिम दिन आइपुग्दा नेपाल पदक पाउने देशहरुको सूचीमा छैन ।

नेपालले सन् १९६४ मा टोकियो ओलम्पिकबाट सहभागिता जनाउन थालेको हो । १४ पटक ओलम्पिकमा सहभागी भएपनि प्रदर्शन खेलबाहेक नेपालले कुनै पनि पदक जित्न सकेको छैन । यसपाली पनि नेपाल पदकका लागि भन्दा पनि सहभागिता र राष्ट्रिय किर्तिमानमा सुधारको उद्देश्यले सहभागी भएको थियो ।

नेपालकी स्टार पौडीवाज गौरिका सिंह १०० मिटर महिला फ्रिस्टाइलमा राष्ट्रिय किर्तिमान सुधार गर्न सफल भइन् । स्विमिङको पहिलो चरणमै बाहिरिएकी उनले १ मिनेट ०.११ मिलिसेकेन्डमा दूरी पूरा गरेकी थिइन् ।

पौडीवाज अलेक्जेन्डर शाहले पनि १०० मिटर पुरुष फ्रिस्टाइल स्पर्धामा राष्ट्रिय किर्तिमानमा सुधार गरे ।

नेपालबाट सुटिङकी कल्पना परियार, जुडोका सोनिया भट्ट, एथलेटिक्सको १०० मिटरतर्फ सरस्वती चौधरीले सहभागिता जनाएका थिए । उनीहरुले आफ्नो विगतको प्रदर्शनमा सुधार गर्न समेत सकेनन् ।

सरस्वती आफ्नो समूहको छनोटमा १२.९१ सेकेन्डमा दौड पूरा गर्दै आठौं स्थान बनाउन सफल भइन् ।

सोनिया भट्ट जुडोको महिला ४८ केजी तौल समूहमा पहिलो चरणमै रुसकी डोग्लोभासँग १०–० ले पराजित भइन् । महिला १० मिटर एयर राइफलमा कल्पना परियार पहिलो चरणबाटै बाहिरिइन् । पहिलो चरणमा ५० खेलाडीमध्ये उनी ४६औं स्थानमा रहिन् ।

टोकियो ओलम्पिकमा खेलाडी र प्रशिक्षकभन्दा खेल पदाधिकारी बढी गएको विषयले आलोचना भयो । ५ खेलाडी, ४ प्रशिक्षकसहित ९ जना टोकियो पुगे । तर, खेल पदाधिकारी र खेलकुद मन्त्रालयका अधिकारी १७ जना टोकियो पुगे । जसमध्ये नेपाल ओलम्पिक कमिटीका ९, राष्ट्रिय खेलकुद परिषद्का ४, खेलकुद मन्त्रालयका सचिव, चिकित्सकसहितकाहरु थिए ।

यसपटक पनि खेलकुदमा निकै राजनीति भयो । म्याराथुनका गोपी चन्द्र पार्की टोकियो ओलम्पिकमा सहभागी हुनबाट रोकियो । उनी ओलम्पिकमा सहभागी हुन तयारी अवस्थामा थिए । कम कोटा पाएको भन्दै पार्की रोकिएका थिए । १०० मिटर दौडकी सरस्वती चौधरीले टोकियोको टिकट पाइन् ।

खेलमा व्यवस्थापकीय कमजोरी, राम्रो भन्दा हाम्रो खेलाडी खोज्ने प्रवृत्ति, खेलाडीभन्दा खेल पदाधिकारीले महत्व पाउने र लिन खोज्ने प्रवृत्ति, राज्यले खेललाई कम महत्व दिनु, खेलाडीहरुमा पनि खेलप्रति कम लगावलगायतका कमजोरीले नेपाल ओलम्पिकमा पदकविहिनको अवस्थामा रहेको कारण देखिन्छ । खेलाडी भएर बाँच्न सकिन्छ भन्ने महशुश अझैपनि खेलाडीहरुमा पर्न सकेको देखिदैन । उनीहरुमा सामाजिक सुरक्षाको चिन्ता उत्तिकै छ । अर्कोतर्फ, कमजोर आत्मबलले पनि खेलाडीहरुले क्षमताको पूरा प्रदर्शन गर्न नसकिरहेको अवस्था छ ।