काठमाडौं, भदौ १३ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले आफू पार्टी सभापति शेरबहादुर देउवाको उत्तराधिकारी भएको दाबी गरेका छन् । देउवाले आफूलाई समर्थन नगरे पनि ‘ब्याक’ नहुने उनको दृढता छ ।
आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै नेता श्रेष्ठले भने, “हामीले सकेसम्म सर्वसम्मत सभापति बनाउनुपर्छ । चुनाव हुने स्थितिमा शेरबहादुर देउवाको उत्तराधिकारी मै हो । अब उहाँले मलाई आफ्नो उम्मेदवार घोषणा गर्न मात्र बाँकी छ । अब देउवाले सरकार चलाउने हो, हामीले सहयोग गर्ने हो । संगठन विभागको प्रमुख पनि हुँ । संगठनलाई चुस्त दुरुस्त बनाएर आगामी चुनावमा कांग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाउने हो ।”
देउवा खेमाकै विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी घोषणा गरिसक्नुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले थपे, “विमलेन्द्रले सभापतिमा उम्मेदवारी दिनुभएको होइन । अफिस खडा गर्नभएको हो । उहाँजस्तो नेताले जनसम्पर्कका लागि अफिस खडा गर्नु नौलो होइन । मेरो पनि अफिस छ । तामझामका साथ उद्घाटन नगरेको मात्र हो ।”
साथै नेता श्रेष्ठले देउवाले आफूलाई समर्थन नगरे पनि ‘ब्याक’ नहुने बताए । उनले थपे, “उम्मेदवारी दिने छुट सबै साथीहरुलाई छ । परिस्थिति जे जे आउँछ, त्यसलाई झेल्दै जाने हो । देउवा सपोर्ट गर्नुभएन भने आम साथीको सहयोग लिएर अगाडि बढ्छु । अब ब्याक हुने प्रश्न छैन ।”
साथै उनले महाधिवेशनको मुखमा लोकतान्त्रिक दलमा सामान्य छलफल हुनुलाई झगडा भन्न नमिल्ने बताउँदै क्रियाशील सदस्यताको नामावलीबारे विवाद कृत्रिम भएको दाबी गरे । उनले भने, “क्रियाशील सदस्यता विवाद छानबिन समितिले नै टुंगो लगाएको हो । पछि तीन जना साथीले त्यसलाई निष्कर्षमा पुर्याउनुभयो । अहिले धमाधम सूची सार्वजनिक भइरहेको छ । अब भदौ १८ गते वडा अधिवेशन हुन्छ, नमिलेका जिल्लामा त्यसपछि हुन्छन् ।”
नेता श्रेष्ठले अब एकदुई दिनभित्र मन्त्रिपरिषद् विस्तार हुने र दल विभाजनसम्बन्धी अध्यादेश आवश्यक भए रहने, नत्र नरहने स्पष्ट पारे ।




प्रतिक्रिया