बेलायतबाट फर्किएर चेन होटलमा लगानी


चितवन, २३ भदौ । दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागाईले चेन होटल सञ्चालनमा ल्याएका छन् । दियालो र अनुपम फुडल्याण्डको नाममा उहाँको समूहको होटल बिस्तार भइरहेको छ ।

पन्ध्र वर्षअघि काठमाडौँको वसुन्धरामा उहाँको नेतृत्वको समूहको पहिलो होटल दियालो फुडल्याण्ड सुरु भएको हो । सोही नाममा वुटवलमा, भरतपुरमा र बालाजुमा पनि सञ्चालनमा रहेको छ । त्यसैगरी अनुपम फुडल्याण्ड काठमाडौँको बत्तीसपुतलीमा सञ्चालनमा छ । अनुपमलाई पोखरा, हेटौँडा र नुवाकोटमा शाखा बिस्तार गर्ने उनको तयारी छ । चापागाईले भने, “आउँदो पाँच वर्षमा २० स्थानमा शाखा खोल्ने तयारीमा छौ ।”

भरतपुर महानगरपालिका–५ स्थायी घर भएका उनले यहाँको बालकुमारी कलेजबाट कानूनमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेसँगै उनी बेलायत पुगे । नौ वर्ष आठ महिनाको लण्डन बसाइँमा उहाँको जिम्मेवारी राम्रो होटलको सेफको थियो । त्यहाँको आफ्नो अनुभवलाई स्वदेशमा नै प्रयोग गर्नुपर्छ भन्ने लागेपछि स्वदेश फर्किएर काम थालेको चापागाईले बताए। उनले भने, “मैले त्यहाँ पैसा र सीप पाएपछि स्वदेशमा नै गएर काम गर्ने रहर भयो ।”

नेपाल फर्किएसँगै काठमाडौँमा एक जना साझेदारसँग मिलेर उनले दियालो फुडल्याण्ड सुरु गरे। ती साझेदार हुनुहुन्छ माधव पाण्डे । यससँगै साझेदारको सङ्ख्या थप गरेर व्यवसाय बिस्तार हुन थाल्यो । सुरुमा दुई जनाले रु दुई करोड २० लाख लगानीबाट थालिएको यो व्यापार आजसम्म आईपुग्दा रु ५० करोडभन्दा माथिको भएको छ । साझेदार २७ जना पुगेका छन् । मुख्य समूहमा चापागाईसहित पाँच जना छन् भने शाखामा स्थानीय साझेदार ३० प्रतिशत राख्ने गरिएको छ । सबैलाई जोड्दा यो सङ्ख्या पुगेको हो ।

आम्दानीको २० प्रतिशत व्यवसाय बिस्तारका लागि खर्च गरिँदै आएको उनले बताए । राजधानीमा ठूला कार्यक्रमका लागि चापागाई परिचित नाम हो । राजनीतिक दलका सभासम्मेलन गर्न पर्दा आउने नाममध्येमा उहाँलाई पहिलो लहरमा लिने गरिन्छ । आफ्नो गृह जिल्ला चितवनमा उहाँले सबैभन्दा ठूलो सभाहलसहितको दियालो फुडल्याण्ड सञ्चालनमा ल्याएको छ ।