काठमाडौं, भदौ २४ । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले संसद् चल्ने स्थिति नभएकाले अग्रीम चुनावमा जानुपर्ने बताएका छन् । उनले सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारीको गलत व्याख्या गरेर समानान्तर न्यायालय चलाउन खोजेको आरोपसमेत लगाए ।
आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “अस्थिरता, विकृति र विसंगतिले भरिएको सदन अब चल्दैन, यसले विधेयक पास गर्न पनि सक्दैन । यो थारो गाईजस्तै हो । यो संसद्लाई जतिसक्दो चाँडो अन्त्य गरेर अर्ली इलेक्सनमा जानुपर्छ । फागुनदेखि वैशाखसम्म सबै तहको निर्वाचन एकैचोटि गराउनुपर्छ । अब फैसला गर्ने जिम्मा जनतालाई दिऊँ ।”
एमालेको १४ जना सांसदलाई कारबाही नगरेकाबारे परेको मुद्दा अदालतमा विचाराधीन रहेकाले भदौ २८ गतेसम्म पर्ख भन्दा पनि सभामुखले जबर्जस्ती गरेकाले संसद्मा अवरोध गर्नुपरेको उनको जिकिर छ । उनले थपे, “अस्ति प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई भेट्न कानुनमन्त्री पठाउनुभएको थियो । अब त सम्बन्ध सुध्रिएला भनेको फेरि माधव नेपाल र प्रचण्डले वातावरण बिगारिसकेछन् ।”
नेता बस्नेतले सभामुखले अरु दललाई एउटा र एमालेलाई अर्को कानुन लगाउन नमिल्ने बताए । निर्वाचन आयोग, सर्वोच्च अदालत र सभामुखले सेटिङ चलाएको आरोप पनि लगाए । लोकतान्त्रिक मान्यतालाई चुनौती दिएर अध्यादेश ल्याइएको र देशीविदेशी शक्तिको डिजाइनभित्र माधव नेपाल एउटा पात्रका रुपमा खडा भएको उनको दाबी थियो ।
माधव नेपालको पार्टी चाँडै फुट्ने भविष्यवाणी पनि उनले गरे । उनले थपे, “माधव नेपालको पार्टीमा भक्तपुरबाट जम्मा एक जना मात्र जनप्रतिनिधि गए । अहिले माधव नेपालको भागमा पाँच वटा मन्त्रालय परेको छ, ३० जनालाई अवसर दिन्छु भन्दै हिँड्नुपरेको छ । त्यो पार्टी चाँडै फुट्ने स्थिति आउँछ ।”
एमसीसीबारे पठाइएका प्रश्न र जवाफ नाटक भएको पनि उनको दोषारोपण छ । उनले भने, “११ बुँदे प्रश्न र जवाफ नाटक मात्र हो । सतहमा आएका प्रश्न र उत्तरले एमसीसी पारित गर्न भूमिका खेल्दैन । सरकारले जालझेलपूर्ण ढंगले सदन छलेर पास गर्ने योजना बनाएको छ । अब प्रचण्ड र बाबुरामको राष्ट्रवादको परीक्षण हुन्छ । एमाले फुटाएर बहुमत पुग्यो भन्दै प्रधानमन्त्री जुँगा मुसार्दै हिँड्नुभएको छ । एमालेलाई विश्वासमा लिन सरकारले के प्रस्ताव ल्याउँछ, त्यस आधारमा निर्णय हुन्छ ।”




प्रतिक्रिया