काठमाडौं, २५ भाद्र । नेपाल विद्युत निर्यात गरेर समृद्ध बन्नसक्ने सम्भावनाका ढोकाहरु खुल्न थालेका छन् । विद्युतमा आत्मनिर्भर भएको नेपालले निर्यात समेत गर्ने योजनाहरुलाई अगाडि बढाएको छ । तर, बजारको सुनिश्चितता चुनौती बनेको छ ।
नेपालले अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि लगानी सम्झौताहरु गर्न थालेको छ । विशेष गरी भारतसँग त्यस्तो सम्झौताहरु भइरहेको छ । बुधबार मात्र नेपाल र भारतबीच विद्युत व्यापारका लागि बुटवल गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि लगानी सम्झौता भएको छ । यसका लागि नेपाल विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेड बीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पारव ग्रिडका कार्यकारी निर्देशक वाइ के दिक्षितले गरेको हस्ताक्षरमा दुवै पक्षको ५०-५० प्रतिशत लगानी रहनेछ । १२० किलोमिटरको प्रसारण लाइनमा नेपालतर्फ २० किलोमिटर र भारततर्फ १०० किलोमिटर पर्दछ । नेपालतर्फको खण्डको प्रसारण लाइन नेपाल आफैले निर्माण गर्नेछ । भारततर्फको प्रसारण लाइनमा दुवै पक्षको आधा आधा लगानी हुनेछ ।
२ हजार मेगावाट विद्युत प्रवाह गर्न सक्ने क्षमताको ४०० केभीको प्रसारण लाइन निर्माण सम्झौता नेपालको विद्युत निर्यात गर्ने महत्वाकांक्षी योजना हो । ४५६ मेगावाटको माथिल्लो तामाकोशीलगायतका विद्युत उत्पादनपछि नेपालमा विद्युत मागभन्दा उत्पादन बढी हुने अवस्था बनेको छ । विशेष गरी वर्षायाममा नेपालमा विद्युत देशभित्रको मागभन्दा उत्पादन बढी हुने भइसकेको छ ।
भारतमा वर्षायाममा विद्युतको बढी माग हुन्छ । नेपालमा वर्षामा विद्युतको कम माग हुन्छ । वर्षामा उत्पादित विद्युत भारत र बँगलादेशलाई विक्री गर्ने नेपालको योजना रहेको बुझिएको छ । रासससँगको कुराकानीमा प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा जगेडा भएको विद्युत भारत र बँगलादेशमा विक्रीका लागि छलफल सकारात्मक भएको जानकारी दिएका छन् ।
नेपालमा १८ सय मेगावाट विद्युत उत्पादन क्षमता बनिसकेको छ । नेपालमा अहिले रातको समयमा अधिकतम १००० मेगावाट आन्तरिक माग छ । ८०० देखि ९०० मेगावाट विद्युत उत्पादन बढी भइसकेको छ । माथिल्लो तामाकोशी र भोटेकोशीको उत्पादन पूर्ण क्षमतामा भएसँगै नेपालको ध्यान भारत र बँगलादेशलाई विद्युत विक्री गर्नेतर्फ गएको छ । त्यसका लागि नेपालले दुवै देशसँग कुरा बढाएको छ ।
भारतको विहार र उत्तर प्रदेशमा विद्युतको अभाव छ । बँगलादेश पनि विद्युत खरिद गर्न चाहन्छ । तर, अन्तरदेशीय प्रसारण लाइनको अभावले समस्या छ । धमाधम त्यसको निर्माण प्रक्रिया बढेको छ ।
विद्युत निर्यात गर्न सक्ने प्रसारण लाइन पनि छ । तर, त्यो पर्याप्त छैन । अर्कोतर्फ, विद्युतको एकमात्र बजार भारत हुनुले पनि समस्या बनेको छ । नेपालले भारतबाहेकका देशलाई विद्युत विक्री गर्नसक्ने वातावरण तयार भएको छैन । विद्युत खेर जाने भइसकेको छ । तर, उत्पादित विद्युत निर्यात गर्नसक्ने नेपालको समृद्ध बन्ने सपना पूरा हुनसक्छ ।




प्रतिक्रिया