काठमाडौं, असोज २२ । पूर्व सचिव भीम उपाध्यायले गुटबन्दी गर्ने, अनुशासन र नैतिकतामा नबस्ने, आन्तरिक द्वन्द्व व्यवस्थापन पनि हुन नसक्ने स्थितिका कारण सबै दल अकर्मण्य र स्खलित भएको आरोप लगाएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वसचिव उपाध्यायले प्रश्न गरे– कसैले कसैलाई नटेर्ने भएपछि दल कसरी चल्छ ?
मुुलुकमा तीन तहको सरकार भए पनि अझै पनि एकले अर्कालाई देखाउने प्रवृत्ति उस्तै रहेको उनले बताए । उनले भने, “नेपालगन्जका महिलाहरु न्याय नपाएपछि २० लगातार हिँडेर काठमाडौं आएका छन् र अधिकारका लागि अनशन बस्दै छन् । तल दुइटा सरकार छन्, उनीहरुले पनि महिलाका मुद्दा हेर्नुपर्ने हो । कुनै पनि सरकार सानो, ठूलो होइन । स्थानीय सरकारले आफै अघि सरेर काम गर्नुपर्ने हो । यो राजनीतिको अर्को अँध्यारो पाटो हो । तलले माथि देखाउने, माथिले तल देखाउने जिम्मेवारी सार्ने कुरा हो । सबैको जिम्मेवारी भनेको कसैको जिम्मेवारी होइन भनेजस्तो भयो ।
एमसीसी पास गर्न ढिलाई हुन नहुने उनको भनाइ छ । उनले भने, “एमसीसी हुनुहुँदैन कसैले भनेजस्तो लाग्दैन । ट्रान्समिसन लाइन भएन भने बिजुली के गर्ने ? हामीले बेच्ने भनेको छिमेकी भारत र बंगलादेशलाई हो । अमेरिकासँग सम्झौता भइसकेको छ, अनुमोदन नभएको मात्र हो । हामीले प्रसारण लाइन नबनाई हुन्न । जहाँबाट पैसा ल्याएर भए पनि काम गर्नुपर्यो ।”
थप एक-दुई अर्ब खर्च गरेर भए पनि काठमाडौंमा मेलम्चीको पानी ल्याउनुपर्ने बताए । उनले भने, “मेलम्चीमा भौगर्भिक समस्या देखिएको छ । तर काठमाडौंको खानेपानीका लागि मेलम्चीको विकल्प छैन । पाँच–छ महिना काम गर्ने हो भने पानी ल्याउन सकिएला ।”




प्रतिक्रिया