आफ्नै घमण्डले ओली सगरमाथाको शिरबाट नारायणी तिरमा पुगेको मन्त्री खतिवडाको टिप्पणी


काठमाडौँ, ११ मङ्सिर। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी शर्मा ओली आफ्नै घमण्डका कारण सगरमाथाको शिरबाट नारायणीको तिरमा पुगेको टिप्पणी गरेका छन् । नेकपा (एकीकृत समाजवादी) सुनापति गाउँपालिकाले आयोजना गरेको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले नेपाली जनताले माया गरेर सगरमाथाको शिरमा पु¥याएका ओली आफ्नै घमण्डले गर्दा अहिले नारायणीको तिरमा पुगेको बताएका हुन् ।

झण्डै दुई तिहाइको बहुमतसहित बालुटार छिरेका केपी ओली आफ्नै मतिका कारण बालुटारबाट बालकोटको बार्दली हुँदै नारायणीको बगरमा पुगेको र अबको उनको यात्रा बगरकै हुने उनले बताएका थिए ।ओलीले कम्युनिष्ट आन्दोलनलाई नै ध्वस्त पारेको बताउँदै अब आफ्नो पार्टीलाई मण्डलेकरण गरेर नागर्जुनमा बुझाउने निश्चित रहेको बताए । २०६२-६३ को जनआन्दोलनदेखि नै केपी ओली गणतन्त्रको पक्षमा नरहेको स्मरण गर्दै स्वास्थ्य मन्त्री खतिवडाले त्यसपछिका गतिविधिले केपी ओली मण्डलेहरुको पक्षमा रहेको पुष्टि गरिसकेको बताए ।

संसद विघटनको प्रशंगमा मन्त्री खतिवडाले भने, ‘केपी ओलीले पहिलो पटक संसद विघटन गरेको गलत भएको भन्दै सर्वोच्चले बदर गरेको ८० दिन पुग्न नपाउँदै दोस्रो पटक संसद विघटन गरे । त्यसपछि संसदका बहुमत सदस्य सहितको हस्ताक्षर लिएर हामी सरकार बनाउन सक्छौँ, ओलीले गरेको संसद भंगलाई बदर गर भनेर राष्ट्रपतिकोमा गयौँ । तर, राष्ट्रपतिले हामीले वैधानिक रुपमा गरेको हस्ताक्षरलाई नक्कली भन्दै पन्छाइन् । त्यतिबेला उनी ओलीको चाकडी गर्दै प्रधानमन्त्रीको कारिन्दा बनिन् । त्यसपछि हामी फेरि सर्वोच्च गयौँ । सर्वोच्चले बहुमत सासंदले गरेको हस्ताक्षर सक्कली भएको र सरकार बनाउन मिल्ने भनेर आदेश जारी गरेर बनेको सरकारलाई परमादेशको सरकार भन्दै अहिले ओली बौलाएर हिँडेका छन् ।’-File Photo