एम अधिकारीको विषय संसद प्रवेश– जथावाभी नबोल्न रुलिङ गर्न र छानविन गर्न माग


काठमाडौं, असार २९ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषय संसद्मा प्रवेश गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा कांग्रेस र माओवादी केन्द्रले यो विषय उठाएका हुन् ।

कांग्रेस र माओवादी केन्द्रले गभर्नरले जथावाभी बोलेर आतंकित पारेको भन्दै उनलाई जथाभावी नबोल्नको लागि रुलिङ हुनु पर्ने माग संसदमा उठाएका छन् ।

जारी प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद मिन बहादुर विश्वकर्माले गभर्नरले सबैलाई आतंकित बनाएको भन्दै उनलाई जथाभावी नबोल्नको लागि रुलिङ हुनु पर्ने माग गरे ।

सांसद विश्वकर्माले देशको अर्थतन्त्र बिग्रदै गएर श्रीलंका बन्ने अभिव्यक्ति गभर्नरले बारम्बार दिंदा २ देशबीचको सम्बन्धमा पनि असर पर्ने बताए ।

त्यस्तै माआवादी केन्द्रकी सांसद रेखा शर्माले राष्ट्र बैंकका गभर्नर एमाले पार्टीको विभागको सदस्य रहेकोले गभर्नरमाथि छानविन भई कारवाही हुनु पर्ने माग गरेकी छिन्। नेकपा एमालेलाई पार्टीको अर्थ विभागको सदस्यमा एम अधिकारी, खोटाङ लाई मनोनित गरेको आरोप छ ।