प्रचण्ड एकाबिहानै गोरखा दरबारमा (फोटोफिचर)


काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आज गोरखा दरबारको अवलोकन गरेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दाहालले गोरखा–२ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुन । यसअघि ०७४ को निर्वाचनमा दाहाल चितवन–३ बाट विजयी भएका थिए ।

यसपटकको निर्वाचनमा पनि दाहालले चितवनबाट नै चुनाव लड्ने मनशाय बनाएका थिए । तर, पार्टीले जितको लागि धेरै मेहनत गर्न नपर्ने र देशव्यापी रुपमा पार्टीको पक्षमा माहोल बनाउन चुनावी दौडाहमा निस्किन सहज हुने भएकोले दाहाललाई गोरखा जान सुझाएको थियो ।

उम्मेदवारी दर्ताको लागि दाहालसँगै उनका पूर्व सहकर्मी नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि गोरखा गएका थिए । त्यसपछि हिजो दाहाल गोरखा पुगेका छन् । आज विहान भने दाहालले गोरखा दरबारको अवलोकन गरेका छन् । उनको साथमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जिल्लाका नेता तथा कार्यकर्ताहरु पनि दरबार अवलोकनमा गएका थिए ।