समकालीन नेपाली राजनीतिमा सत्ता नै अन्तिम सत्य बनेको छ- मिनेन्द्र रिजाल


काठमाडौं, १९ पुष । नेपाली काग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपाली राजनीतिमा सत्ता नै अन्तिम सत्यको रुपमा स्थापित भएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ’जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस नेतृत्वको तत्कालीन पाँच दलीय गठबन्धनका लागि पनि सत्ता नै अन्तिम सत्य बनेकाले टिक्न नसकेको बताएका हुन् ।

साथै, कांग्रेसभित्र गठबन्धनबाट चुनाव लड्दैगर्दा सिटको बाँडफाड, निर्वाचनको व्यवस्थापन र निर्वाचन पछिको व्यवस्थानको बारेमा नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने उनको माग छ ।

आगामी दिनमा कांग्रेस पुनर्निमाण र पुनर्जागरणका लागि आफूलाई देश विदेशमा रहेको नेपालीबाट ठूलो उर्जाप्राप्त भएको बताए ।पार्टीभित्रबाट आफूलाई अन्तरघात भएको तर्फ लक्षित गर्दै आगामी दिनमा आफूप्रति दूराग्र राख्नेप्रति फर्केर पनि नहेर्ने उनले बताए ।

‘आगामी दिनमा म कांग्रेसलाई बनाउने बाटोमा लिएर जान्छु । कसैका पछि फर्केर हेर्दिन । मलाई दुराग्र राख्ने व्यक्तिलाई गाली गरेर म क्षणिकको आनन्द लिन्न,’ उनले भने ।

त्यसैगरी, तपाईको राजनीतिमा शेरबहादुर देउवाले ब्रेक लगाइदिनु भयो नि ? भन्ने प्रश्नमा उनले यो कुरा घामजस्तै छर्लङ्ग भएकाले आफू धेरै नबोल्ने बताए ।