काठमाडौं, ८ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेताहरु वर्षमान पुन र जनार्दन शर्माका कारण कहिलेकाहीँ अप्ठ्यारोमा पर्ने गरेका छन्। पार्टीको हालैको महाधिवेशनमा दुई नेताले महासचिवको दाबी गरेपछि दाहालले तेस्रो व्यक्तिलाई अघि सारेर दुवै नेतालाई थामथुम पारेका थिए । प्रचण्डपछि पार्टीको नेतृत्व लिने होडमा पुन र शर्मा लागिपरेका छन् ।
दुवै नेताले पार्टीभित्र गुटलाई प्रश्रय दिएको चर्चा छ । अध्यक्ष प्रचण्डले समेत बेलाबेलामा पार्टीभित्र गुट मौलाएको र अब यसलाई रोक्न नसके पार्टी ठूलो मात्रामा ड्यामेज हुने बताउने गरेका छन् । दुवै नेताको पकड पार्टीका भातृ संगठनदेखि विभिन्न विभागसम्म देखिएको छ । महाधिवेशनमा पुन र शर्माले महासचिवमा दाबी गरेपनि दाहालले देव गुरुङलाई महासचिव बनाएर दुवै नेतालाई समान रुपमा व्यवस्थापन गरेका थिए ।
तर, शर्माले सार्वजनिक रुपमै उपमहासचिव पद अस्विकार गरेका छन् । अहिले उनी महाधिवेशनअघिको संगठन विभाग प्रमुखको हैसियतमा आफूलाई प्रस्तुत गरिरहेका छन् । प्रचण्ड स्वयम दुईमध्ये एक नेता रोज्न अप्ठ्यारोमा परेको बेला उनकी छोरी रेनु दाहालले भने पुनलाई रोजेकी छिन् । रेनु हाल भरतपुर महानगरकी मेयरपनि हुन् ।
हिजो प्रकाश सुवेदीसँगको कुराकानीमा उनले पुन र शर्मामध्ये एक छान्नुपर्दा पुनलाई छानेकी थिईन् । रेनुले वर्षमानले पार्टीलाई दुरगामी रुपमा सही ढंगले चलाउन खोजेको र कहीँपनि विवादित नभएको भनेर प्रशंसा गरिन् ।




प्रतिक्रिया