ओलीलाई धोका दिएर प्रचण्डले देउवासँग सहकार्य गर्ने, बाबुरामको बाजी


काठमाडौं, १० माघ । राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने नजिकिएसँगै प्रमुख दलका शीर्ष नेताहरुले भेटवार्ता तथा छलफललाई तिव्रता दिएका छन् । राष्ट्रपतिमा एमाले र कांग्रेसले उम्मेदवारी दिने चर्चा छ । तर, सत्ताको बागडोर सम्हालेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल अहिलेसम्म मौन बस्दा दुवै दल दाहालको निर्णयको पखाईमा छन् । दाहाल एमालेकै सहयोग र समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।

२६ पुषमा संसद्मा विश्वासको मत लिँदा कांग्रेसको पनि साथ पाएपछि दाहाल रणनीतिक कदम चाल्नेगरि अघि बढेको स्रोतको दाबी छ । सरकारको नेतृत्व पहिलो चरणमा गर्न नपाएको भन्दै कांग्रेस नेतृत्वको गठबन्धन त्यागेर एमालेसँग सहकार्य गर्न पुगेका हुन् । दाहालले आफ्नो उक्त कदमलाई बाध्यात्मक कदमको रुपमा प्रष्ट्याउने गरेका छन् । अहिले माओवादीभित्र पनि राष्ट्रपति एमालेलाई दिन नहुने आवाज उठ्न थालेको छ । पार्टीभित्र दुई शक्तिशाली गुट विपरित ध्रुवमा उभिएपछि दाहाल पनि दबाबमा छन् ।

उपमहासचिव वर्षमान पुन दाहाललाई कांग्रेस नेतृत्वको गठबन्धनबाट छुटाएर एमालेसँग सहकार्य गराउन सफल भएका छन् । उता, अर्का उपमहासचिव जनार्दन शर्मा भने कांग्रेससँग नै सहकार्य गर्नुपर्छ भनेर लागिपरेका छन् । २६ पुषमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनको लागि भन्दै उनै शर्माले कांग्रेस सभापति शेरबहादुर देउवासँग पटक पटक भेटवार्ता गरेका थिए । शर्मा अहिले राष्ट्रपतिको निर्वाचनमा कांग्रेससँग सहकार्य गर्नुपर्ने पक्षमा उभिएका छन् । यसको लागि उनले सक्रिय भूमिका खेलेका छन् ।

सभामुख, राष्ट्रपति पाउनु अनि अढाई वर्षपछि एमालेले सत्ताको नेतृत्व गर्न पाउँदा ओलीले पनि सर्वसत्ता लाद्ने चर्चा माओवादीभित्र छ । प्रधानमन्त्री दाहालले पनि राष्ट्रपतिमा समझदारी खोजिने बताउँदै एमालेसँग भएको सहमति पालनाप्रति ईमानदारिता देखाएका छैनन् । उनले कांग्रेसलाई पनि मान्य हुनेगरि साझा व्यक्तिको खोजी गरेका छन् । दाहालले त आफ्ना पूर्व सहकर्मी डा. बाबुराम भट्टराईलाई राष्ट्रपतिमा अघि सार्न खोजेका छन् । कांग्रेस नेतृत्वले पनि बाबुरामलाई अघि सारिए सहयोग रहने विश्वास दिलाएको छ ।

तर, एमाले अध्यक्ष ओलीले भने कुनैपनि हालतमा आफ्नो दलले अघि सार्ने उम्मेदवारलाई माओवादीले सहयोग गर्नुपर्ने अडान लिएको छ । अहिले एमाले वृत्तमा राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले ओलीलाई धोका दिनेबारे चर्चा हुन थालेको छ । राष्ट्रपतिको निर्वाचनमा माओवादी निर्णायक छ । मधेशवादी दलले पनि बाबुरामलाई समर्थन गर्नसक्ने भएकोले प्रचण्डले सकेसम्म बाबुरामको नाममै सहमति जुटाउने कोशिस गरेका छन् ।

माओवादीभित्र पछिल्लो समय भैरहेको चर्चाबारे एक नेताले भने,‘राष्ट्रपतिमा बाबुरामजीले बाजी मार्ने सम्भावना छ । अध्यक्ष कमरेडले ट्याक्टिकल्ली मुभ बनाउनुभएको छ । हेरौं, अब एक महिनाभित्र सबै छर्लङ हुन्छ ।’ मंसिर ४ गतेको निर्वाचनमा प्रचण्डलाई आफ्नो क्षेत्र छाडेर बाबुरामले गुण लगाएको चर्चा छ । अहिले प्रचण्ड बाबुरामलाई त्यही गुण तिर्ने तयारीमा छन् ।

अहिलेको गठबन्धन भत्किएर प्रचण्डको कांग्रेससँग सहकार्य भयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विचल्ली हुने पनि चर्चा छ । उनी आँफै सरकारमा पार्टीबाट नेतृत्व गरेर सहभागी भएका छन् । फागुनभित्र अहिलेको गठबन्धन भत्किए रवि लामिछानेले छोटो समयमा नै सरकारबाट बहिर्गमन हुनुपर्ने अवस्था आउनेछ । भोलि उनको नागरिकतासम्बन्धी मुद्दामा अन्तिम फैसला आउँदैछ ।file photo