अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदनप्रति रवीन्द्र मिश्रद्धारा खेद प्रकट


काठमाडौं,५ जेठ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अमेरिकी विदेश मन्त्रालयद्वारा प्रकाशित अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन आपत्तिजनक र खेदजनक रहेको बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत उनले अमेरिकी विदेश मन्त्रालयजस्तो जिम्मेवार संस्थाबाट प्रकाशित प्रतिवेदनमा नेपालका बारे सुनेकै आधारमा कयौँ गम्भीर आरोपहरू लगाइएको दाबी गरेका छन् उनि लेख्छन्

अमेरिकी विदेश मन्त्रालयद्वारा प्रकाशित अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन २०२२ को सन्दर्भमा

अमेरिकी विदेश मन्त्रालयजस्तो जिम्मेवार संस्थाबाट प्रकाशित प्रतिवेदनमा नेपालका बारे सुनेकै आधारमा कयौँ गम्भीर आरोपहरू लगाइनु अत्यन्त खेदजनक छ।

प्रतिवेदनले कयौँ गम्भिर आरोपहरू पुष्टी हुने प्रमाण दिएको छैन। नागरिक समाजको भनाई भन्दै आधारहीन कथनहरू समेटेको छ।

हाल विश्वमा चुनौतीको रूपमा देखिएको अफवाह र मिथ्या सूचना तथा त्यसले राजनीतिक दलको प्रतिष्ठामा पुग्ने नकारात्मक प्रभावको बारेमा अमेरिका जानकार नहुने कुरै भएन।

जहाँसम्म म आवद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीको कुरा छ, राप्रपा विश्वभरका देश तथा सम्वन्धित दल र समुहहरूसँग मित्रवत् सम्बन्ध राख्न चाहन्छ। राप्रपा कयौँ दशकदेखि संयुक्त राज्य अमेरिकाले नेपाललाई पुर्याइरहेको सहयोगको प्रशंसा गर्दछ। तर राप्रपा कुनै पनि प्रकारको विदेशी दवाव स्विकार गर्दैन।

राप्रपा धार्मिक स्वतन्त्रता र सहिष्णुतामा पुर्ण विश्वास गर्दछ। २०६३ सालमा धर्म निरपेक्ष घोषणा गरिनु अगाडी नेपालमा उदाहरणीय धार्मिक सहिष्णुता कायम थियो। तर आन्तरिक र वाह्य स्वार्थ समूहहरूको खेलका कारण नेपाललाई रातारात षडयन्त्रमूलक ढङ्गबाट धर्म निरपेक्ष घोषणा गरियो।

व्यक्तिगत स्वतन्त्रतामा विश्वास गर्ने जिम्मेवार राजनीतिक दलका रूपमा राप्रपाले कुनै अमुक धर्म तथा व्यक्तिहरूविरुद्ध घृणा फैलाउने कार्य गर्दैन र त्यस्ता कार्य सोच्न सकिने बिषय पनि होइन।

धर्म निरपेक्षताको घोषणापछि नेपाल सन्सारमैँ सबैभन्दा बढी धर्मान्तरण भइरहेको देशहरूमा पर्दछ। नेपालमा धर्मान्तरण व्यक्तिगत स्वतन्त्रता भन्दा पनि संगठित विदेशी प्रभावको विषय बनेको छ।

त्यसले धार्मिक द्वन्द्वको सम्भावनाका बारेमा मात्र होइन नेपालको सदियौँ पुरानो संस्कृति र सभ्यतामाथि पर्ने प्रतिकूल असरका बारेमा पनि मानिसहरूमा गम्भिर चिन्ता उत्पन्न गराएको छ।

नेपाल सरकारले यस प्रतिवेदनका बारेमा आधिकारीक धारणा सार्वजनिक गर्नेछ भन्ने अपेक्षा राखेको छु’।