शून्य समयको नाम परिवर्तन गरि ‘मन्त्रीले सुन्ने समय’बनाउन कांग्रेस सांसद खतिवडाको माग


काठमाडौं,९ जेठ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सांसदहरुले शून्य समयमा उठाएका विषयमा सम्बन्धित निकायको ध्यान जान नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै खतिवडाले शून्य समयको प्रभावकारिता अभिवृद्धि हुन नसकेको भन्दै शून्य समयको नाम परिवर्तन गरि मन्त्रीले सुन्ने समय राख्न माग गरेका छन् ।

उनले भने ‘सभामुख महोदय- शून्य समयलाई जिरो समयका रुपमा हैन यसको नामाकरण परिवर्तन गरेर मन्त्रीले सुन्ने समय बनाइओस् नभए यो जिरो नै हुने भयो’।

त्यस्तै खतिवडाले देशैभरी तिब्ररुपमा फैलदै गएको लम्पी स्किन रोगको नियन्त्रणमा सरकार गम्भिर बनोस् भन्दै ध्यानाकर्षणसमेत गरेका छन् ।

शून्य समयमै खतिवडाले संसदको संसदीय सुनुवाइ विशेष समिति गठन नहुँदा प्रधानन्यायाधीशको नियुुक्ति हुन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।