चन्द्र भण्डारीसँग भेट गर्दै ओलीले भने- तपाइँ निको भएर आउनुहुन्छ भन्ने विश्वास थियो


काठमाडौं,१० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यलाभ गरिरहेका नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीलाई भेटेका छन् ।

बुधबारको संसद बैठकमा सहभागी भएर सभामुखको कार्यकक्षमा आराम गरिरहेका भण्डारीलाई भेट्न ओली पुगेका थिए।

भण्डारीले आफ्नो स्वास्थ्य लाभको कामना गरेकोमा ओलीलाई धन्यवाद दिए।

उनले भने, ‘मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ। गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो। थ्याङ्क यू सो मच।’

त्यसक्रममा ओलीले भने, ‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो। निको भएर आएपछि भेट भयो। खुसी लागेको छ।’

सभामुख घिमिरेले एक साताअघि निवासमै गएर भण्डारीसँग भेट गरेका थिए। सभामुखले भण्डारीको इच्छाअनुसार नीति तथा कार्यक्रममा बोल्न विशेष व्यवस्था मिलाएका थिए।

भण्डारीले आज सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै जलन भएयता संसदमा पहिलोपटक सम्बोधन गरेका थिए।

गत फागुन ३ गते सांसद भण्डारी आफ्नै घरमा ग्याँस लिकबाट भएको आगलागीमा परेका थिए भने सोही घटनामा परेर आमा गुमाएका थिए ।