प्रतिनिधिसभाको अवरोध हट्यो, प्रधानमन्त्रीले पहिले सम्बोधन गरेपछि संसद अघि बढ्ने


काठमाडौँ, जेठ १३ । प्रतिनिधिसभाको अवरोध हटाउनेबारे भर्खरै सम्पन्न प्रमुख राजनैतिक दलका शीर्ष नेताहरुबीच संसद अगाडी बढाउने सहमती भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भर्खरै सम्पन्न छलफलबाट संसदको अवरोध हटाएर बैठक अगाडी बढाउने सहमती भएको हो ।

स्रोतका अनुसार आज बेलुका ४ बजे बस्नेगरी बोलाईएको प्रतिनिधि सभाको बैठकमा पहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाएको प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको संलग्नता नरहेकोबारे सम्बोधन गरेपछि बैठक अगाडी बढाउने सहमती भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री ओली यसमा नजोडिने स्पष्ट पार्दैछन् ।

शुक्रबार बिहान ११ बजेको लागि बोलाइएको बैठकमा एमालेले रोष्ट्रम घेरेपछि २० मिनेटको लागि स्थगित भएको थियो। स्थगित बैठक ३ बजे बस्ने सूचना जारी गरियो  ३ बजे पनि बैठक बस्न नसकेपछि साझ ६ बजे बैठकका लागि बोलाइएको थियो। साँझ ६ बजे पनि बैठक बस्न नसकेपछि आज बस्नेगरी आज बैठक आह्वान गरिएको थियो ।