ओलीको टिप्पणी : अहिले नेपालमा जति छाडापन कहीं नहोला, युट्युब खोल्न पनि कुनामा जानुपर्छ


काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा छाडापन बढेको र नेपालमा जति छाडापन अन्ततिर नभएको टिप्पणी गरेका छन् । ओलीले सामाजिक सञ्जालमा आफ्नो सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा गुनासो पोख्दै नेपालमा विकृति र विसंगति भित्रिएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

आज (बुधबार) पार्टी राष्ट्रिय जनसांस्कृति महासंघद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘आज दुनियाँमा सबैभन्दा छाडापन यही देशमा देखिन्छ । यति छाडापन कहीं नहोला । पहिले छाडापन भनेर विभिन्न देशको कुरा गर्थाैं । अहिले नेपालमा जस्तो अन्त छैन । युट्युब खोल्न सकिँदैन । खोल्न प¥यो भने एकान्त कुनामा जानुपर्छ । के आउने हो भनेर डराउनुपर्छ । विकृतितर्फ भासिँदै गएका छौं हामी ।’

ओलीले नेपाल सभ्यता र संस्कृतिको सुरुवात गर्ने देश भएको स्मरण गराए । तर, आज त्यस्तो धर्तीमा के बोल्ने र के गर्नेबारे कुनै बारबन्देज नभएको भन्दै उनको चिन्ता थियो । उनले भने,‘यो देश जहाँ सभ्यता–संस्कृतिको सुरुवात भएको थियो, त्यो धर्तीमा आज के बोल्ने, के गर्ने बारबन्देजै छैन । शत प्रतिशत असत्य हो भन्ने जान्दाजान्दै हाकाहाकी झूट बोल्ने । जस्तो, केपी ओलीको फोटोमा हातभरि सुनै सुनका, यता पनि सुनै सुनका । त्यति सुन म बोक्न पनि सक्दिनँ होला ।’